राजनीति

प्रधानमन्त्रीलाई ज्ञानेन्द्रको चुनाैती- हिम्मत भए सक्कली जेन-जीसँग वार्ता गर्नुस्, होइन भने नाटक बन्द गर्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीलाई सक्कली जेन-जीसँग वार्ता गर्न चुनौती दिएका छन्।

बुधबार सिंहदरबारमा भएको सम्झौतालाई ‘नाटक’ को संज्ञा दिँदै उनले प्रधानमन्त्रीको आलोचना गरेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले प्रधानमन्त्री कार्कीले आफ्नै मान्छे खडा गरेर नक्कली वार्ता गरेको आरोप लगाए।

उनले वार्तामा सहभागी गराइएका प्रतिनिधिहरूको उमेर समूहमाथि प्रश्न उठाउँदै भनेका छन्, ‘वार्तामा ३६ देखि ३८ वर्ष उमेर समूहका व्यक्तिहरू देखिएका छन्, जुन प्रधानमन्त्री आफैँले खडा गरेको समूह हो।’

सांसद शाहीले वास्तविक आन्दोलनकारीहरू अझै पनि अस्पतालमा उपचाररत रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

‘यदि असली जेन-जीसँग वार्ता गर्ने हो भने प्रधानमन्त्रीज्यूले अस्पतालको शय्यामा गोली खाएर लडेका युवाहरूसँग संवाद गर्नुपर्छ,’ शाहीले लेखेका छन्, ‘नभए यो नाटक र चटक बन्द गर्नुपर्छ।’

उनले वास्तविक आन्दोलनमा रगत बगाएका युवाहरूको पीडा सम्बोधन गर्न सरकार उदासीन देखिएको तर आफ्ना अनुकूलका व्यक्तिहरूसँग सम्झौता गरेर भ्रम छर्न खोजेको आरोप लगाए।

प्रकाशित: २४ मंसिर २०८२ २२:०१ बुधबार