प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानीको ‘ग्रे लिस्ट’ मा परेकोबारे टिप्पणी गर्दै त्यसको कुनै अर्थ नभएको बताएका छन्।
उनले अर्को वर्षसम्ममा यो विषय स्वतः समाधान हुने र नेपाल ‘ग्रिन’ सूचीमा आउनेमा विश्वस्त रहेको दाबी गरे।
बुधबार राष्ट्रियसभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति’ सम्बन्धी प्रतिवेदनमाथिको छलफलमा बोल्दै उनले व्यङ्ग्यात्मक शैलीमा भने, ‘ग्रे लिस्ट केही होइन यो। हेर्दै जानुहोला, नेक्स्ट इयर ग्रे-स्रे खतम हुन्छ, ग्रिन आउँछ, ग्रिन।’
उनले यसो भनिरहँदा राष्ट्रियसभामा उपस्थित एमालेका सांसदहरू मुस्कुराएका थिए।
प्रधानमन्त्री ओलीले देशको आर्थिक मूल्यांकन आफूहरूले नभई विश्व बैंक र एसियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय निकायले गरिरहेको र उनीहरूकै सकारात्मक मूल्यांकनका आधारमा नेपाल स्तरोन्नति हुन लागेको तर्क गरे। ‘हामीले मूल्यांकन गरेर होइन, उनीहरूकै मूल्यांकनबाट हामी स्तरोन्नति हुन लागेका हौँ,’ उनले भने।
उनले अन्तर्राष्ट्रिय मूल्यांकनमा कहिलेकाहीँ भ्रमपूर्ण कुराहरू पर्न सक्ने भए पनि देशको अवस्थालाई लिएर सधैँ नकारात्मक दृष्टिकोण राख्न नहुनेमा जोड दिए। ‘आफूलाई जहिले पनि नेगेटिभ चस्माबाट नहेरौँ। आफ्नो देशलाई गलत ढंगले नहेरौँ,’ उनको भनाइ थियो।
प्रकाशित: १४ श्रावण २०८२ १६:२४ बुधबार