राजनीति

डा. केसीलाई अनशन तोड्न सरकारको आग्रह, भन्यो- धेरै माग पूरा भइसके, बाँकी प्रक्रियामा छन्

शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले उठाएका अधिकांश मागहरू कार्यान्वयनमा आइसकेको बताउँदै जारी सत्याग्रह अन्त्य गर्न आग्रह गरेको छ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै डा. केसीका मागहरूको बुँदागत कार्यान्वयनको अवस्था सार्वजनिक गरेको हो।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव श्रीप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा डा. केसीले उठाएका विचार र दृष्टिकोणका आधारमा चिकित्सा शिक्षामा सुधार, सेवा प्रभावकारिता र सुशासन अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख छ।

संवाद र सहकार्यका माध्यमबाट सुधारको थप कार्ययोजना निर्माण गरिने प्रतिबद्धता जनाउँदै मन्त्रालयले सत्याग्रह फिर्ता लिन अपिल गरेको छ।

गेटा मेडिकल कलेजसम्बन्धी पहिलो बुँदाको मागका सम्बन्धमा चिकित्सा शिक्षा आयोगको अनुगमन प्रतिवेदनका आधारमा आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा गरेरै कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङलगायतका कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

साथै, आयोगको मापदण्डअनुसार मूलतः सरकारी कलेजहरूमा सिट वृद्धि गरिएको जनाइएको छ। दोस्रो बुँदामा उल्लेखित सम्बन्धित पदाधिकारीहरूको विषयमा मन्त्रालय स्वयंले आवश्यक छानबिन गर्ने जनाएको छ।

तेस्रो बुँदाअन्तर्गत शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि हाल ३०० शय्याको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा ल्याइसकिएको र यसमा क्रमशः शय्या थप गर्दै लगिने मन्त्रालयले जनाएको छ।

विश्वविद्यालयसम्बन्धी ऐनमा पदाधिकारी नियुक्ति प्रक्रियालाई विवादरहित र दलीय प्रभावमुक्त बनाउन ‘केही नेपाल ऐन संशोधन’ को प्रक्रियासमेत अगाडि बढाइएको छ।

छात्रवृत्ति कोटा र गुणस्तरसम्बन्धी चौथो बुँदामा कानुनी मापदण्डअनुसार नै सार्वजनिक तथा निजी संस्थामा छात्रवृत्तिको व्यवस्था कार्यान्वयन भइरहेको मन्त्रालयले उल्लेख गरेको छ।

चिकित्सा शिक्षा आयोगले तोकेका आधारमा मात्रै कोटा निर्धारण र गुणस्तर मापदण्ड कार्यान्वयन गरिएको विज्ञप्तिमा उल्लेख छ।

विगतका सम्झौता कार्यान्वयनको पाँचौं बुँदाबारे मन्त्रालयले २०८३ साउन ११ को सहमतिलगायतका विषयको विश्लेषण गर्न २०८३ साउन २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अध्ययन कार्यदल गठन भई प्रतिवेदनको मस्यौदा तयार भइरहेको जनाएको छ।

यस्तै, २०८२ भदौ २४ गते देशभर भएका आगजनी, तोडफोड र लुटपाटजस्ता विध्वंसात्मक घटनाको छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउने कार्य सम्बन्धित निकायबाट भइरहेको जानकारी दिइएको छ।

छैटौं बुँदाको मागका सन्दर्भमा सुर्खेत, बुटवल र बर्दिवासमा मेडिकल शिक्षा संस्था स्थापनाको कार्य भइरहेको र थप बजेट व्यवस्थापन प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। साथै, सबै प्रदेशमा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्न मन्त्रालय दृढ रहेको प्रस्ट पारिएको छ।

डा. केसीले उठाएका सुधारका मागहरू कार्यान्वयन भएकै कारण आज नेपालको चिकित्सा शिक्षा क्षेत्र आकर्षणको केन्द्र बनेको दाबी गर्दै मन्त्रालयले सत्याग्रह अन्त्य गरी संवादमा आउन अनुरोध गरेको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १९:३५ सोमबार