राजनीति

सरकारले ‘लस एण्ड ड्यामेज’को क्षति माग्नुपर्छ : सांसद पराजुली

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले डीएनए पहिचान प्रक्रियामा पारदर्शिता अपनाउन आग्रह गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विपत्तिमा ज्यान गुमाएका तथा पहिचान नखुलेका व्यक्तिको डीएनए परीक्षण, फरेन्सिक अभिलेख र डिजिटल रेकर्ड अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित राख्न सरकारलाई आग्रह गरे।  साथै, उनले यसबारे नागरिकलाई नियमित जानकारी दिनुपर्ने बताए।

पराजुलीले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान दिए पनि ठूलो क्षति बेहोर्नुपरेको भन्दै ‘लस एण्ड ड्यामेज’ लगायत अन्तर्राष्ट्रिय संयन्त्रमार्फत जलवायु न्याय र क्षतिपूर्तिको दाबी सशक्त रूपमा उठाउनुपर्ने बताए।

उनले भने, 'भोटेकोशी–त्रिशूलीको यो विपत्तिलाई समेत वैज्ञानिक रूपमा अध्ययन र गर्दै नेपालले आफ्नो सम्पूर्ण आर्थिक तथा गैरआर्थिक क्षतिको व्यवस्थित अभिलेखीकरण गर्नुपर्छ र पक्ष राष्ट्रहरूको सम्मेलन COP, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धि UNFCCC(United Nations Framework Convention on Climate Change), Loss and Damage Fund तथा अन्य अन्तर्राष्ट्रिय मञ्चमा अनुदानमा आधारित climate finance, प्रविधि हस्तान्तरण, adaptation finance र प्रमाणित climate loss and damage का लागि न्यायोचित क्षतिपूर्तिको अधिकार सशक्त रूपमा दाबी गर्नुपर्छ।\

यस्तै, उनले विपत्तिको प्रभाव मुख्यतः भोटेकोशी–त्रिशूली नदी प्रणाली मा सीमित रहेको भन्दै सम्पूर्ण नेपाल असुरक्षित भएको सन्देश नदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।

अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको र पर्यटन गतिविधि निरन्तर रहेको उनको भनाइ थियो।

पराजुलीले स्वतन्त्र वैज्ञानिक छानबिन, भोटेकोशी–त्रिशूली जोखिम नक्साङ्कन, प्रभावित परिवारको पुनर्स्थापना योजना, सबै पूर्वाधारको ‘क्लाइमेट रेजिलेन्स अडिट’ तथा हिमाली विपद् र सुरुङ उद्धारका लागि स्थायी राष्ट्रिय उद्धार क्षमता स्थापना गर्न सरकारसँग आग्रह गरे।

प्रकाशित: १७ भाद्र २०८३ १४:४४ बुधबार