राजनीति

‘सुरक्षा थ्रेट’ भनेर गिरफ्तार गरिन्छ कि सुरक्षा दिइन्छ ? सरकारले जवाफ दिनुपर्छ : सांसद दुलाल

नेकपा सांसद युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरेर १२ घण्टा नबित्दै छाडिएको घटनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलालले विपत्तिको समयमा जनतालाई राहत दिनुपर्ने बेला सरकारको ध्यान अन्यत्र गएको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए।

सांसद दुलालले पूर्वप्रधानन्यायाधीश जबराको पक्राउलाई लिएर सरकारमाथि प्रश्न उठाए। उनले जबरालाई मध्यरातमा पुर्जी र स्पष्ट कारणबिनै पक्राउ गरिएको भन्दै यसले सरकार कानुनी बाटोमा हिँडिरहेको छ कि अराजकतातर्फ गइरहेको छ भन्ने प्रश्न खडा गरेको बताए।

जबरालाई सुरक्षा खतरा रहेको भन्दै पक्राउ गरिएको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै दुलालले सुरक्षा खतरा हुने व्यक्तिलाई पक्राउ गर्ने कि सुरक्षा खतरा दिने व्यक्तिलाई पक्राउ गर्ने भन्दै सरकारसँग जवाफ मागे।

‘पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट भनियो। सुरक्षा थ्रेट दिनेलाई गिरफ्तार गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई गरिन्छ?’ उनले प्रश्न गरे।

उनले यसअघि पनि एक पूर्वप्रधानमन्त्रीलाई मध्यरातमा घरमै घेराउ गरेर पक्राउ गरिएको र पछि अदालतले छाडेको प्रसंग उल्लेख गर्दै अहिले पूर्वप्रधानन्यायाधीशलाई पनि त्यस्तै शैलीमा पक्राउ गरिएको बताए।

जबरालाई करिब १२ घण्टा हिरासतमा राखेपछि छाडिएको विषयमा प्रश्न गर्दै उनले भने, ‘१२ घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो? त्यो सुरक्षा थ्रेट को हो?’

दुलालले सरकारलाई संवैधानिक र कानुनी बाटोबाट मुलुक सञ्चालन गर्न आग्रह गरे। पाँच वर्षका लागि जनताबाट म्यान्डेट पाएको सरकारले आफूलाई स्थायी शासकजस्तो ठानेर देश चलाउन नहुने उनको भनाइ थियो।

उनले सरकारका पछिल्ला गतिविधिबारे संसद्मार्फत जनतालाई स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै मध्यरातमा गरिएका निर्णय र कारबाहीप्रति गम्भीर हुन आग्रह गरे।

‘के खाएपछि मध्यरातमा जोस आउँछ र मध्यान्हमा होस आउँछ?’ भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए।

मुलुकलाई यसरी सञ्चालन गर्न नमिल्ने भन्दै उनले संवैधानिक र कानुनी प्रक्रियाअनुसार सरकार अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: १२ आश्विन २०८३ ११:४८ सोमबार