राजनीति

सरकारले किसानलाई सहज रूपमा मल वितरण गरोस् : दाहाल

फाइल तस्बिर

नेकपाका संयोजक पुष्पकमल दाहालले रोपाइँ सकिँदा समेत मधेश लगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेको बताएका छन‍्।

सोमबार सामाजिक सञ्जालमार्फत दाहालले यस्तो बताएका हुन्। उनले सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको बताए। साथै, उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको उल्लेख गरे।

दाहालका अनुसार यो सन्दर्भमा मल आयातको प्रक्रिया जटिल रहेकाले यसका लागि समयमा नै पूर्व तयारी आवश्यक हुन्छ। उनले आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको यही गाम्भीर्यता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेट समेत सुनिश्चित गरेको दाबी गरे।

'हाम्रो सन्दर्भमा मल आयातको प्रक्रिया जटील रहेकोले यसका लागि समयमा नै पूर्व तयारी आवश्यक हुन्छ। मेरो नेतृत्वको तत्कालिन सरकारले मल आयात तथा वितरणको यही गाम्भीर्यता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेट समेत सुनिश्चित गरेको विदितै छ,' उनले भनेका छन्।

दाहालले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि समेत तयारी गर्न तथा कालोबजारी एवं बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्न उनले सरकारसँग आग्रह गरे।

प्रकाशित: २५ श्रावण २०८३ ११:२० सोमबार