राजनीति

विपद्पछिको व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्छ : बसुमाया तामाङ

प्रतिनिधिसभा सदस्य बसुमाया तामाङले रसुवा, नुवाकोट र धादिङमा बाढीले निम्त्याएको विनाशपछि उद्धारसँगै विपद्पछिको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारसँग आग्रह गरेकी छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले सरकारले गरिरहेको उद्धार तथा राहतका प्रयास सराहनीय भए पनि उद्धारपछि गरिने व्यवस्थापनमा कमजोरी भए ठूलो मानवीय तथा सामाजिक जोखिम निम्तिन सक्ने उनको भनाइ थियो। 

उनले अस्थायी शिविरमा सबै प्रभावितलाई एउटै त्रिपालमुनि राख्दा महिला, बालबालिका तथा किशोरीको गोपनीयता र सुरक्षामा जोखिम बढेको बताइन्। उनीहरूका लागि तत्काल छुट्टै, सुरक्षित र मर्यादित आवासको व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्। 

त्यस्तै, विपद्मा परिवार तथा अभिभावक गुमाएका बालबालिकाको अभिभावक राज्य बन्नुपर्ने उनले बताइन्। ती बालबालिकालाई माया र संरक्षण दिएर हुर्काउन चाहने परिवारका लागि कानुनी रूपमा धर्मपुत्र तथा धर्मपुत्रीका रूपमा ग्रहण गर्ने प्रक्रिया सहज बनाउनुपर्ने उनको माग छ। 

बाढीका कारण आफन्त गुमाएर एक्लिएका तथा सहाराविहीन बनेका ज्येष्ठ नागरिकको विशेष व्यवस्थापन गर्न पनि तामाङले आग्रह गरिन्। उनीहरूका लागि नियमित स्वास्थ्य परीक्षण, औषधि उपचार तथा आवश्यक संरक्षणको तत्काल ग्यारेन्टी गर्नुपर्ने उनले बताइन्। 

बाढीका कारण विद्यालयहरूमा क्षति पुगेकाले बालबालिका पठनपाठनबाट वञ्चित भएको भन्दै तामाङले नजिकका अन्य विद्यालयमा उनीहरूलाई समायोजन गर्न वा तत्काल अस्थायी वैकल्पिक कक्षा सञ्चालन गर्न सरकारसँग माग गरिन्। 

‘उद्धारपछि प्रभावित नागरिकको जीवन सामान्य बनाउन दीर्घकालीन व्यवस्थापन आवश्यक छ,’ उनले भनिन्, ‘बालबालिका, महिला, ज्येष्ठ नागरिकलगायत जोखिममा रहेका समुदायको सुरक्षा र संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ।’    

प्रकाशित: १८ भाद्र २०८३ १४:३४ बिहीबार