राजनीति

स्विट्जरल्याण्डबाट १५ करोड अनुदान लिने सरकारको निर्णय

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण कोषका लागि स्विट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब १५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १ मिलियन स्विस फ्र्याङ्क बराबरको उक्त वैदेशिक सहायता लिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार यो रकम विशेषगरी द्वन्द्वकालीन घटनाको सत्य तथ्य अन्वेषण र शान्ति प्रक्रियाका बाँकी कामका लागि खर्च गरिनेछ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपणको कामलाई निष्कर्षमा पुर्‍याउन स्विट्जरल्याण्डले सहयोग उपलब्ध गराएको हो,’ प्रवक्ता पोखरेलले भने, ‘यसले संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन मद्दत पुग्ने सरकारको विश्वास छ।’

प्रकाशित: २ वैशाख २०८३ १९:१० बुधबार