नेकपाका सांसद युवराज दुलालले मेलम्चीवासीको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मेलम्ची खानेपानी आयोजनाको प्रभावित भेन्डर संघर्ष समितिले आन्दोलनको घोषणा गरेको बताउँदै उनीहरुको समस्या समाधान गर्न माग गरे।
संघर्ष समितिले आजदेखि मेलम्ची खानेपानी आयोजनाका गाडी र कर्मचारीलाई आयोजनास्थलमा प्रवेश गर्न नदिने घोषणा गरेको बताउँदै यसले आयोजनाको कामलाई निरन्तरता दिन समस्या हुने बताए।
उनले मेलम्ची बाढीपीडित संघर्ष समिति र स्थानीय भेन्डर पीडित संघर्ष समितिले यसअघि पनि आयोजनाको पानी पथान्तरण बन्द गरेर आन्दोलन गरेको स्मरण गराए।
ती आन्दोलनका क्रममा सरकारले पटक–पटक विभिन्न सम्झौता गरे पनि समस्या समाधान हुन नसकेको भन्दै उनले सरकारले यसमा ध्यान दिनुपर्ने बताए।
‘पीडितको पक्षमा लाग्दा पानी पथान्तरणमा अवरोध हुने र नलाग्दा पीडितहरू पीडित नै भइरहने अवस्था छ,’ उनले भने, ‘यो दुखद अवस्था फेरि नआओस्।’
दुलालले मेलम्ची खानेपानी आयोजनामा अवरोध हुन नदिन र प्रभावितहरूको समस्या समाधान गर्न माग गरे। उनले मेलम्चीदेखि हेलम्बुस्थित मेलम्ची हेडवर्क्ससम्म र मेलम्चीदेखि पाँचपोखरी भताङसम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया तत्काल अघि बढाउन माग गरे।
त्यस्तै, मेलम्ची र इन्द्रावती नदीको तटीय क्षेत्र संरक्षणका लागि आवश्यक कार्यक्रम अघि बढाउन तथा स्थानीय भेन्डरहरूसँग सरकारले गरेको सहमति तत्काल कार्यान्वयन गर्न आग्रह गरे।
प्रकाशित: १ आश्विन २०८३ १४:०१ बिहीबार