सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउने भएको छ।
सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको नीति रहेको छ।
नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले सामाजिक सुरक्षा सबै श्रमिकको साझा अधिकार र सुरक्षित भविष्यको आधार भएको उल्लेख गर्दै सरकारले यसको दायरा विस्तारका लागि नीतिगत तथा संस्थागत पहल अघि बढाएको बताइन्।
मन्त्री बादीका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोष खर्च शीर्षकअन्तर्गत विनियोजित १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रक्रिया थालनी गरिएको छ।
त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सङ्घीय सरकारले सह–योगदान गर्ने व्यवस्था अघि बढाइएको छ।
स्थानीय तहको सहयोगदानसहित कोषमा आबद्ध हुने श्रमिकका लागि हाललाई एक प्रतिशत बराबरको सह–योगदान सङ्घीय सरकारले जम्मा गरिदिने व्यवस्था तयार गरिएको मन्त्री बादीले जानकारी दिइन्।
सरकारका उच्च पदाधिकारीदेखि आधारभूत तहमा श्रम गर्ने नागरिकसम्म सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको उनले बताइन्।
मन्त्री बादीले सामाजिक सुरक्षा प्रणालीको विस्तारसँगै यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न निकाय तथा क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष र सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत तथा समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताइन्।
सामाजिक सुरक्षा कार्यक्रमको सेवा प्रवाहलाई योगदानकर्तामैत्री, पारदर्शी, सरल र प्रभावकारी बनाउने तथा सामाजिक सुरक्षा कोषको संस्थागत क्षमता विकास गर्ने सरकारको प्राथमिकता रहेको उनको भनाइ छ।
सामाजिक सुरक्षा प्रणालीको दिगो र प्रभावकारी सञ्चालनका लागि सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय संयन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले नीति निर्माणदेखि कार्यान्वयनसम्म तीनै पक्षको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताइन्।
कोषको सञ्चालक समितिलाई थप सक्षम र प्रतिनिधिमूलक बनाउँदै वास्तविक श्रमिक तथा रोजगारदाताको प्रतिनिधित्व सुनिश्चित गर्ने कार्य अघि बढाइएको उनले जानकारी दिइन्।
सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भारका रूपमा नभई श्रमिकको क्षमता, उत्पादकत्व, श्रमको सम्मान र संस्थागत स्थायित्वमा गरिने लगानीका रूपमा बुझ्नुपर्ने मन्त्री बादीको भनाइ थियो।
सुरक्षित श्रमिकले आत्मविश्वासका साथ काम गर्न सक्ने र त्यसले उत्पादन तथा उत्पादकत्व अभिवृद्धिमा योगदान पुर्याउने उनले उल्लेख गरिन्।
हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत भएका छन्। कोषमा १ खर्ब ३३ अर्ब २६ करोडभन्दा बढी योगदान रकम सङ्कलन भएको छ भने २३ अर्ब २६ करोडभन्दा बढी दाबी भुक्तानी भइसकेको छ।
नेपालको संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री बादीले योगदानमा आधारित र गैरयोगदानमूलक सामाजिक सुरक्षा प्रणालीलाई एकअर्काका पूरकका रूपमा विकास गरी नागरिकको जीवनचक्रमा आधारित सामाजिक संरक्षण सुनिश्चित गर्नुपर्ने बताइन्।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा बालबालिकालगायत लक्षित समूहलाई गैरयोगदानमूलक सामाजिक सुरक्षा र रोजगारी तथा योगदान गर्न सक्ने नागरिकलाई योगदानमा आधारित प्रणालीमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको उनले स्पष्ट पारिन्।
सामाजिक सुरक्षा कोषमा सङ्कलित रकमलाई सुरक्षित तथा प्रतिफलयुक्त क्षेत्रमा लगानी गरी कोषको दीर्घकालीन वित्तीय दिगोपन सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सुरक्षा कोषलाई सबै श्रमजीवी नागरिकको अधिकार, संरक्षण र सुरक्षित भविष्यको भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
यस वर्षको नवौँ सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता ः वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइएको हो।
प्रकाशित: ११ मंसिर २०८३ १५:०८ शुक्रबार