नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले सुकुमबासीहरूमाथि राज्य संयन्त्र निर्मम रूपमा प्रस्तुत भएको भन्दै आपत्ति जनाएका छन्।
थापाथली, शङ्खमूल र गैरैधाराका भूमिहीन तथा सुकुमबासीहरूलाई उठिबास लगाउने काम भएको उल्लेख गर्दै उनले राज्य यतिसम्म कठोर हुन सक्छ भन्ने दृष्टान्त देखिएको बताएका हुन्।
सम्बोधनका क्रममा नेता ज्ञवालीले ‘तातो दूध खाँदा मुख पोलेको मान्छेले मोही देख्दा पनि फु-फु गर्छ’ भन्ने नेपाली उखान स्मरण गरे। थापाथली, शङ्खमूल र गैरैधाराबाट विस्थापित गराएर सुकुमबासीहरूलाई होल्डिङ सेन्टर र काभ्रे हुँदै पुर्ख्यौली थलोतिर लखेट्ने कदमप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘हाम्रा आँखाअगाडि सुकुमबासीहरूको जे बिजोग देखिएको छ, यसले राज्य नागरिकप्रति यतिसम्म निर्मम हुन सक्दो रहेछ भन्ने देखाएको छ।’
नेता ज्ञवालीले सुकुमबासी समस्याका साथै देशमा श्रमजीवी जनताले भोग्नुपरेका सास्ती, बढ्दो करको भार र जनजीविकासँग जोडिएका प्रश्नहरूमा सबै राजनीतिक शक्तिहरूबीच एउटा साझा समझदारी बन्नुपर्नेमा जोड दिए।
विगतमा गरिएका राजनीतिक एकताका प्रयासहरू टिक्न नसकेको स्वीकार गर्दै उनले अब अहिल्यै हतारमा एकता गर्नुभन्दा मुद्दाका आधारमा सहकार्यको बाटो रोज्नुपर्ने बताए।
संसद्, प्रदेश, स्थानीय तहका साथै सडक आन्दोलनका एजेन्डामा एकापसमा ऐक्यबद्धता जनाउँदै अघि बढ्न सकिने उनको भनाइ थियो।
प्रकाशित: ९ श्रावण २०८३ १७:५४ शनिबार