राजनीति

सरकार जनताको सेवक हो, अभिभावक होइन: सन्तोष परियार

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सरकार नेपाली जनताको अभिभावक नभई सेवक भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले राज्यसत्ताले गरिब तथा भूमिहीन नागरिकमाथि अन्याय गर्न नहुने बताए।

‘सुकुम्बासीको घर नभत्काउनुस्। ती गरिबहरूलाई नरुवाउनुस्। तपाईंका छोराछोरीलाई संसारका राम्रा विश्वविद्यालयमा पढाएर ती गरिबलाई पढ्ने मौलिक अधिकारबाट वञ्चित नगराउनुस्,’ उनले भने।

सरकारले संविधान, संघीयता, समावेशिता तथा सामाजिक न्यायका आधारभूत मान्यतामाथि आक्रमण गर्न खोजे अग्रगामी मोर्चाले त्यसको सशक्त प्रतिरोध गर्ने समेत बताए।

‘आजको आफूलाई संख्यामा बलियो भन्ने सरकार, आदर्शच्युत र विचारविहीन सरकारले यदि त्यता कतै आक्रमण गर्न चाहन्छ भने यो मोर्चा त्यसको विरुद्ध सबैभन्दा सशक्त भएर लड्नेछ र उभिनेछ,’ उनले भने।

उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरूले अब पाँच वर्षमा काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो। संसद् र नगर संसद्को अवस्था हेर्दा विगतका उपलब्धिमाथि प्रश्न उठाउनेहरू आफैँले परिणाम देखाउनुपर्ने बताए।

‘गएको ३५ वर्षमा केही भएन भन्नेहरूले आज संसद् र नगर संसद्को जुन हविगत बनाएका छन्, तिनले यो पाँच वर्षमा गरेर देखाउनुपर्छ। गरेनन् भने फेरि पनि नेपाली जनताले चिनेर सजाय दिनेछन्,’ परियारले भने।

उनले जनताको मत र जनमतको सर्वोच्चतालाई आफूहरूले सम्मान गर्ने र आवधिक निर्वाचनबाट आएको सरकारसँग डराएर राज्यको इतिहास, सभ्यता र संस्थागत संरचना कमजोर बनाउन नहुने बताए।

उनले सरकारलाई संविधान र विधिको सीमाभित्र रहेर काम गर्नसमेत आग्रह गर्दै जनताको शक्ति सबैभन्दा शक्तिशाली सत्ता भएको र जनताविरुद्ध जाने कुनै पनि सरकार लामो समय टिक्न नसक्ने बताए।

‘सदैवको सबैभन्दा शक्तिशाली सत्ता भनेको जनताको सत्ता हो। जुन दिन जनताको सत्ता तपाईंहरूका विरुद्धमा उर्लिन्छ, त्यो दिन संसारका मै हुँ भन्ने सत्ताहरू पनि ढलेका छन्,’ उनले भने।

प्रकाशित: २३ श्रावण २०८३ १८:२८ शनिबार