नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य निश्कल राईले सदनमा प्रतिपक्षले सरकारलाई जवाफदेही बनाउन खोज्दा सरकारले सदनमा प्रतिपक्षलाई देख्न नसकेको बताएका छन्।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सबै विषयको मर्यादामा सरकार भएका कारण सरकारले नै पहिला मर्यादामा रहेर काम गर्नुपर्ने बताउँदै उनले सभामुख र प्रधानमन्त्रीले सदनमा प्रतिपक्षलाई देख्न नसकेको बताए।
साथै, वर्तमान सरकारले परम्परा भत्काउने बहानामा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि हस्पक्षेप गरेको जिकिर गरे। उनले पछिल्लो केही बैठकदेखि प्रतिपक्षले सदनलाई नीति तथा कार्यक्रममा सरकारको जवाफ खोज्ने लगायतको विषयमा प्रमुख प्रतिपक्ष दलहरूले पटक-पटक उठेर सदनमा उत्तरदायी बनाउन खोज्दा सभामुखको साथ नपाएको बताए।
राईले भने, 'पछिल्लो समय प्रतिपक्षले जवाफ खोज्दै सदनप्रति सरकारको उत्तरदायित्व खोज्दा सभामुखले उक्त कार्यक्रमलाई अमर्यादितभन्दा हिजो प्रतिपक्षमा भएको दल आज सत्तामा पुगेपछि विगतमा आफूले गरेको विरोध संसदीय र मर्यादित अनि आज प्रतिपक्षको विरोध कसरी अमर्यादित भयो?'
उनले सत्तारूढ दलले विगतमा सरकारको विरोध गर्दा पनि गलत भएको र वर्तमानमा पनि गलत रहेको बताउँदै सदनको मर्यादा सभामुखले राख्नुपर्ने बताए।
प्रकाशित: ७ जेष्ठ २०८३ १२:१८ बिहीबार



