प्रतिनिधिसभा सदस्य सीता थपलियाले धादिङका बाढी प्रभावित नागरिकको आवतजावत सहज बनाउन बेलीब्रिज निर्माण गर्न सरकारसँग आग्रह गरे पनि त्यसतर्फ ध्यान नदिएको बताएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले बाढीपछि पुनर्निर्माण र प्रभावित नागरिकका समस्या समाधानमा सरकारले ढिलाइ गरिरहेको बताइन्। उनले बाढीपीडितका समस्या समाधानमा सरकार मुकदर्शक बनेको आरोप लगाइन्।
‘सरकार कानमा तेल हालेर, आँखामा पट्टी बाँधेर बसिरहेको छ,’ उनले भनिन्।
बाढीपछि पुनर्निर्माणमा सरकारले देखाएको ढिलासुस्तीका कारण धादिङ जिल्ला नै नक्साबाट हटेको हो कि भन्ने प्रश्न उठ्न थालेको उनले बताइन्। पुनर्निर्माणका काममा सरकारले पर्याप्त ध्यान नदिँदा धादिङका नागरिकले समेत प्रश्न गर्न थालेको उनको भनाइ थियो।
थपलियाले धादिङका नागरिकलाई तत्काल पुल आवश्यक रहेको बताउँदै सरकारले प्राथमिकताका साथ बेलीब्रिज निर्माण गर्नुपर्ने माग गरिन्।
उनले हालै रसुवामा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत दिन विद्युत् महसुल तथा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहा गर्नसमेत सरकारसँग माग गरिन्।
प्रकाशित: १ आश्विन २०८३ १४:५२ बिहीबार