राजनीति

समृद्धि हासिल गर्न सुशासन अपरिहार्य : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सुशासन कायम गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन्।  

तीजका अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आजदेखि सुरु भएको ऐतिहासिक टुँडिखेल तीज महोत्सवको तेस्रो संस्करण उद्घाटन गर्दै उनले आफू सरकारमा रहँदा सुशासन अभियान सुरु गरेको र अहिले पनि निरन्तरता दिइरहेकाले सबैको साथ सहयोग आवश्यक रहेको बताए। अध्यक्ष दाहालले भने, ‘हामी सबै खालका आर्थिक पछौटेपनको अन्त्य गरेर आर्थिक समृद्धिको नयाँ अभियान लिएर अगाडि बढेका छौँ। देशमा समृद्धि हासिल गर्न सुशासन अपरिहार्य छ।’  

अध्यक्ष दाहालले तीज पर्व नेपाली महिलाहरूको सम्मानको पर्व रहेको उल्लेख गरे। उनले तीजलाई मौलिक पर्वका रूपमा मनाउनसमेत आग्रह गरे।  

कार्यक्रममा स्रष्टा सम्मानतर्फ गोविन्द कोइराला र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिएबापत स्वर्गीय सिद्धी गौचनका परिवारलाई सम्मान गरिएको थियो। इन्द्रेणी एकीकृत विकास समाजको आयोजनामा सुरु भएको महोत्सव आगामी भदौ १५ गतेसम्म सञ्चालन हुनेछ।  

महोत्सवमा दैनिक उपभोग्य, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ताकपडासँगै अन्य विभिन्न गरी १५० व्यापारिक स्टल, १२ रेष्टुरेन्टका स्टल, बाल उद्यान रहेका आयोजक संस्थाका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए।

प्रकाशित: ६ भाद्र २०८२ २१:४२ शुक्रबार