राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक रहेको बताएका छन्।
गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आइतबार ललितपुरमा आयोजना गरेको 'नेसनल गभर्नेन्स समिट' को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शासनसत्ताको स्रोत नागरिक भएकाले आम नागरिकलाई केन्द्रबिन्दुमा राखेर राज्य सञ्चालन गर्नुपर्ने बताएका हुन्।
‘पहुँचले जे पनि हुने अवस्थाले सुशासन कायम हुन सक्दैन,’ उनले भने, ‘सुशासन कायम गर्ने जिम्मेवारी बोकेका पदाधिकारी र निकाय अनुशासनमा रहेनन् भने सुशासन कायम हुन सक्दैन।’
उनले विधिको शासन र अनुशासनका आधारमा काम गर्न कानुन निर्माणको जिम्मेवारीमा रहेका जनप्रतिनिधिले ध्यान दिनुपर्ने तथा शासनसत्तामा रहेकालाई जिम्मेवार र जवाफदेही बनाउन नागरिक तहबाटै खबरदारी आवश्यक रहेको बताए।
सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले १६ औँ आवधिक योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकता दिएको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व विकासमा जोड दिनुपर्ने बताए।
जलवायु परिवर्तन, खाद्य सुरक्षा तथा जनशक्ति र प्रतिभा पलायनका समस्यालाई सम्बोधन गर्दै 'डिजिटल' सुशासन र अर्थतन्त्रलाई जोडेर दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने उनको भनाइ थियो।
गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले डिजिटल सुशासनमा केन्द्रित सम्मेलन महत्वपूर्ण रहेको बताउँदै संशोधनको चरणमा रहेका २१० वटा ऐन निर्माणमा सम्बन्धित सरोकारवाला र जनताको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताए।
नीतिगत व्यवस्था तथा कानुन तर्जुमामा जनताको सहभागिता र अपनत्व सुनिश्चित नभएसम्म सुशासन कायम हुन नसक्ने उनको भनाइ थियो। रासस
प्रकाशित: २४ श्रावण २०८३ १४:०० आइतबार