नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारी सुविधा र सुरक्षा व्यवस्थालाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले कसैबाट कुनै सुविधा नलिने भनिए पनि अन्ततः निजी सहायक (पीए) नियुक्त गरिएको भन्दै कटाक्ष गरेका हुन्। उनले सुरक्षा थ्रेटको 'नाटक' मञ्चन गरिएको दाबी गर्दै निजी सुरक्षा अधिकृत (पीएसओ), चालक र सरकारी गाडीसमेत लिन सुझाव दिएका छन्।
उनले लेखेका छन्, 'कसैले पाउँदैन नदिने भन्यौ पिए लियौ, सुरक्षा थ्रेटको 'नाटक' मञ्चन थाल्या छौ, पिएसओ पनि लिइहाल, अगाडि पछाडि ट्याँ टुँ नगर्ने कुरा नाटक भयो।'
बास्कोटाले 'नयाँ काम'को दाबी पुरानै आधारमा 'डेन्टिङ–पेन्टिङ' मात्र भएको टिप्पणी गर्दै त्यसलाई वास्तविक परिवर्तन नभई 'स्टन्ट' को संज्ञा दिएका छन्।
उनले व्यंग्यात्मक शैलीमा 'बाँकी छ, चमेरोको घरमा पाहुना लाग्न, त्यो पनि गर, कथा समाप्त' भन्दै टिप्पणी गरे।
'चालक, गाडी लिई हाल। नयाँ कामका चर्का कुरा पुरानो जगमा डेन्टिङ पेन्टिङ। नयाँ तरक्की त स्टन्ट हो। बाँकी छ, चमेरोको घरमा पाहुना लाग्न त्यो पनि गर कथा समाप्त,' उनले भने।
पछिल्लो समय रास्वपाका सांसदहरूले आफूहरूलाई सुरक्षा थ्रेट भयो भन्दै सरकारसँग सुरक्षाको सुनिश्चित गर्न माग गर्दै आएका छन्। सोही सन्दर्भलाई लिएर बास्कोटाले व्यांग्यात्मक स्टाटस लेखेको बुझिन्छ।
प्रकाशित: १० श्रावण २०८३ ०९:५८ आइतबार