राजनीति

सभापति लामिछानेको पक्षमा जारी हस्ताक्षर अभियान लिएर रास्वपा गाउँगाउँ जाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुर्पक्षका लागि थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा जारी हस्ताक्षर अभियानलाई गाउँगाउँसम्म पुर्‍याउने भएको छ। केन्द्रीय कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै उसले आगामी सोमबारदेखि घरदैलो हस्ताक्षर अभियान चलाउने जानकारी गराएको हो।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका सभापति लामिछानेलाई राजनीति प्रतिशोध र पूर्वाग्रहका आधारमा राज्यले थुनाको दाबी रास्वपाको छ। उनको रिहाइको माग गर्दै रास्वपाले असार ७ गतेदेखि अभियान सुरु गरेको हो।

रास्वपाले नेपाल-भारत सीमा नाकाका मुख्य विन्दू (काकडभिट्टा, रक्साैल, जाेगवनी,  बेलहिया, जमुनाह, गड्डाचाैकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गर्ने जनाएको छ । उपचुनाव हुने रुपन्देही-३ का सबै ३६ वटा वडामा बुथमार्फत् अभियान सञ्चालन गर्ने जनाउँदै उसले असार ७ गते सुरु अभियानलाई कम्तीमा सयदिनसम्म सञ्चालन गर्ने तयारी भएको बताएको छ । 

पत्रकार सम्मेलनमा अभियानका संयोजक दीपक बोहराले हालसम्म २४ लाख ५७ हजार ६१८ हस्ताक्षर सङ्कलन भएको जानकारी दिए। यसलाई थप प्रभावकारी विस्तृत बनाउन साउन ५ गतेदेखि गाउँस्तरसम्मै अभियान चलाउने निर्णय भएको बोहोराको भनाइ थियो। अभियानलाई थप विस्तार गर्न पाँच लाख अपिल र २ लाख हस्ताक्षर फारम सम्बन्धित ठाउँमा पठाएको जानकारी दिँदै उनले अभियानमा हालसम्म ५९ लाख ६८ हजार रुपैयाँ खर्च भएको बताए। 

रास्वपाको हस्ताक्षर अभियान अहिले सात प्रदेश र अन्य दुई केन्द्रमा जारी छ।

कहाँबाट कति हस्ताक्षर संकलन:

हालसम्म संकलित हस्ताक्षरकाे विवरण:

१. काेशी प्रदेश: १,६६,८६१

२. मधेश प्रदेश: २०,५०५

३. बागमती प्रदेश: ६,३९,०६८

४. गण्डकी प्रदेश: ४,३२,७२३

५. लुम्बिनी प्रदेश: २,३६,५९५

६. कर्णाली प्रदेश: ४३,७७५

७. सुदूरपश्चिम प्रदेश: ९४,५३५

८. केन्द्रीय कार्यालय: ३३, ३७०

९. काठमाडौंमा र्‍याटकाे व्यवस्थापका बुथ: ५९,८८५

१०. ह्वास्टएप: ६,५०,१७२

११. इमेल: ८०,१७६

प्रकाशित: १ श्रावण २०८२ १७:२१ बिहीबार

#NagarikNews #Rasopa #NepaliNews #RabiLamichhane