नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एक पटक सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई नदोहोर्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने अन्तिम तयारी भइरहँदा उनले सबै पार्टीहरूले २०४७ सालभन्दा यता एक पटक समानुपातिक वा राष्ट्रियसभा सदस्य भइसकेको व्यक्तिलाई पुन त्यो अवसर नदिन आग्रह गरेका हुन्।
मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिकारीले एमालेले त यस्ता व्यक्तिलाई समानुपातिकको अवसर दिनै नहुने तर्क अघि सारे।
‘२०४७ साल पश्चात एक पटक समानुपातिक सांसद या राष्ट्रियसभा सदस्य भैसकेका व्यक्तिलाई पुन: दोहोर्याउने काम नगरौं। कम्तीमा नेकपा एमालेले नगरोस,’ पार्टीको संगठन विभागका पूर्व प्रमुख समेत रहेका अधिकारी लेख्छन, ‘जीवनमा एक जनालाई एक पटक मात्र मनोनीत हुने अवसर प्राप्त होस।’
अधिकारीले यस्तो अवसर पनि न्यायोचित वितरण होस भन्ने माग गरेका छन्। पार्टीमा पद र अवसरका लागि थिति बसोस भन्ने आफ्नो विशेष आग्रह रहेको उनको भनाइ छ।
फागुन २१ गते हुने निर्वाचनका लागि दलहरूलाई पुष १२ गतेसम्म समानुपातिक तर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने समयसीमा दिएको छ ।
प्रकाशित: १२ पुस २०८२ ०८:४४ शनिबार