राजनीति

जर्मनीका संसदीय राज्यसचिव डा कोफ्लर नेपाल आउँदै

जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज आउँदैछिन्।

नेपालमा रहँदा राज्यसचिव डा कोफ्लरले जर्मनी–नेपाल सहकार्यको विस्तृत जानकारी लिनुका साथै महिला अधिकार र स्वास्थ्य तथा भोटेकोशी बाढीको प्रभावसम्बन्धी विषयमा ध्यान केन्द्रित गर्ने यहाँस्थित जर्मनी दूतावासले जनाएको छ।

उनले नेपाल सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय र स्थानीय साझेदारका प्रतिनिधिहरूसँग भेटघाट गरी जर्मनी र नेपालबीचको विकास सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल गर्नेछन्।

जर्मनीको सङ्घीय सरकारले भोटेकोशी बाढीको प्रतिकार्यका लागि एक करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ।

उक्त सहयोग तत्काल मानवीय सहायता सञ्चालनका साथै प्रभावित क्षेत्रमा स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आपूर्ति र पुनर्निर्माणका लागि दीर्घकालीन विकास सहयोगमा खर्च गरिनेछ।

बाढीका परिणाम र प्रभावित क्षेत्रको मानवीय अवस्थाबारे जानकारी लिन राज्यसचिव डा कोफ्लरले नुवाकोटको भ्रमण गर्नेछिन्। 

भ्रमणका क्रममा उनले स्थानीय सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा प्रभावित नागरिकसँग अन्तर्क्रिया गरी स्थलगत रूपमा मानवीय सहायता र पुनःस्थापनाका आवश्यकताबारे जानकारीसमेत लिनेछिन्।

काठमाडौंमा राज्यसचिव डा कोफ्लरले जर्मन विकास सहयोगबाट समर्थित स्थानीय स्वास्थ्य संस्थाहरूको भ्रमण गर्नेछिन्।

साथै, उनले स्वास्थ्य क्षेत्रका सरकारी तथा नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गर्ने बताइएको छ। यसका अतिरिक्त, उनले नेपालका वर्तमान तथा भावी विकासक्रम र चुनौतीहरूबारे विस्तृत जानकारी लिन विभिन्न छलफलमा सहभागी हुनेछिन्।

ती छलफलमा गत वर्ष भएको जेनजी आन्दोलन तथा नेपालमा सङ्क्रमणकालीन न्यायका विषय पनि समेटिनेछन्।

यस क्रममा राज्यसचिव डा कोफ्लरले विकास सहकार्यका सबै तहबाट विभिन्न दृष्टिकोण बुझ्ने अवसर प्राप्त गर्नेछिन्। त्यसैले यो भ्रमण जर्मनी र नेपालबीच लामो समयदेखि कायम रहेको विकास सहकार्यमा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

राज्यसचिव डा कोफ्लर सन् २००४ देखि जर्मन संसद्को सदस्य हुन्। उनी सन् २०२१ देखि आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिवका रूपमा कार्यरत छिन्।

यस भूमिकामा उनले जर्मनीको द्विपक्षीय तथा बहुपक्षीय विकास नीतिसम्बन्धी सहकार्यको समन्वय र कार्यान्वयनमा मन्त्रीलाई सहयोग गर्दै आएकी छिन्।

राज्यसचिव डा कोफ्लरले यसअघि सन् २०२२ मा पनि नेपालको भ्रमण गरेकी थिइन्। त्यस क्रममा उनले नेपालका विभिन्न साझेदारसँग छलफल गरेकी थिइन्।

यस वर्षको भ्रमणले दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने र विगतका प्रयासलाई निरन्तरता दिँदै अघि बढ्ने अवसर प्रदान गर्ने बताइएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १४:३३ बुधबार