राजनीति

नेतृत्वविहीनताका कारण जेन-जी आन्दोलन अराजकतातर्फ उन्मुख भयो: पन्त

नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले हालैको जेनजी आन्दोलन पवित्र उद्देश्यका साथ सुरु भए पनि नेतृत्वविहीनताका कारण अराजकतातर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।

सोमबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उनले आन्दोलनमा घुसपैठ भएको आशंका व्यक्त गरे।

आन्दोलन सुरु हुनुअघि नै आफ्नी छोरीसँग यसबारे छलफल भएको स्मरण गर्दै पन्तले भने, ‘मेरी छोरीले नै यो जेनजी मुभमेन्टमा आफ्ना धेरै साथीहरू जाने कुरा गरेकी थिइन्। भ्रष्टाचारविरुद्धको यो अभियानको उद्देश्य राम्रो भए पनि यसको नेतृत्व, कार्यक्रम र अन्त्य कहाँ हुने भन्ने स्पष्टता नभएकाले मलाई सुरुदेखि नै चिन्ता थियो।’

उनले नेतृत्वविहीन आन्दोलन अनियन्त्रित भई हिंसामा परिणत हुन सक्ने खतरा औंल्याए सुनाए। ‘यस्तो आन्दोलनमा घुसपैठ हुन्छ,’ पन्तले भने, ‘विगतमा इन्डोनेसियामा यस्तै घटना भएको थियो। मैले छोरीलाई पनि सम्झाएको थिएँ, यस्तो भीडमा जोसिएर अघि बढ्दा अप्रिय घटना हुन सक्छ।’

पन्तले आफू विगतका हरेक आन्दोलनमा अग्रमोर्चामा रहेर लडेको अनुभव सुनाउँदै २०६२/६३ को जनआन्दोलनमा आफूहरूले भीडलाई नियन्त्रण र नेतृत्व दिएको बताए।

‘हामीले आन्दोलनको नेतृत्व गरेका थियौं, त्यसैले जोसमा आएका युवाहरूलाई सम्हालेर राखेका थियौं,’ उनले भने, ‘तर जेनजी आन्दोलनमा कुनै नेता थिएन, जसले गर्दा भीड उत्तेजित भयो र अप्रिय घटना घट्यो।‘

आन्दोलनको क्रममा भएको हिंसात्मक घटना र प्रहरीले चलाएको भनिएको गोलीको विषयमा समेत छानबिन हुनुपर्ने उनको भनाइ थियो। उनले भने, ‘संसदको पर्खाल फोर्न गल र घन प्रयोग गर्नेहरू जेनजी थिएनन्, त्यहाँ घुसपैठ भएको स्पष्ट छ।’

उनले यस्ता संवेदनशील विषयमा राजनीतिक नेतृत्वले गम्भीर भएर सोच्नुपर्नेमा जोड दिए।

प्रकाशित: ६ आश्विन २०८२ २१:०६ सोमबार