गत भदौं २३ र २४ गते भएको आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न भन्दै जेनजीले वार्ता समिति गठन गरेको छ ।
विगतमा भएका सम्झौता र सहमतिलाई कार्यान्वयनमा लैजादै उपलब्धिलाई संस्थागत गर्न वार्ता टोली गठन गरेको उनीहरुको तर्क छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै वार्ता टोलीका सदस्य दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न वार्ता टोली गठन गरेको जानकारी दिए ।
आन्दोलन र आन्दोलनपछि देखिएका सम्पूर्ण जेनजीहरु एकै भएको सन्देश दिन पनि वार्ता टोली गठन गरेको र यो टोलीमा सबैसमूहको साथ र समर्थन रहेको दाबी गरे । उनले सबै जेनजीहरु एक भएको र कुनै दल आवद्ध नभएको पनि स्पष्ट पारे ।
घोषित समितिमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, किशोरी कार्की, टीकाराम लिम्बू, योग्यता भण्डारी, कासिबमोहम्मद मिया, जेम्स कार्की, अर्पित कुँवर, दीपकजंग अधिकारी, अभिषेक श्रेष्ठ छन्। समितिमा रहने थप तीन जना भने घाइते र सहिद परिवारबाट थप गरिने दाहालको भनाइ छ ।
पत्रकार सम्मेलनमा जेनजी आन्दोलनपछि वर्तमान प्रतिनिधिसभा विघटन, सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारलगायत निर्णयको स्वागत गरिएको थियो । सहमती कार्यान्वयन भए नभएको हेर्ने जेनजीहरुले कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन् ।
प्रकाशित: १२ आश्विन २०८२ १६:४९ आइतबार