प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिका जाने तयारी भएपछि जेनजी अभियन्ताहरू उत्साहित देखिएका छन्।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा टोली पठाउने तयारी भए पनि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री शाह आफैँ महासभामा जाने तयारी भएको हो।
महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको विपद्, त्यसबाट भएको जनधनको क्षति र जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय समुदायमाझ उठाउने तयारी गरेका छन्।
जेनजी अभियन्ता तनुजा पाण्डेले प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुनु उत्साहजनक भएको बताएकी छन्। उनले नेपालसँग जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्तामा लामो समयदेखि काम गरेका अनुभवी विज्ञहरू रहेको भन्दै सरकारले उनीहरूको विशेषज्ञता उपयोग गर्नुपर्ने बताएकी छन्।
त्यस्तै, अर्की जेनजी अभियन्ता भावना राउतले प्रधानमन्त्री शाहको भ्रमणलाई नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउने महत्वपूर्ण अवसरका रूपमा लिएकी छन्।
उनले भनेकी छन्, ‘नेपाल सहानुभूति माग्न होइन, जवाफदेहिता माग्न आउँदैछ। अब विश्वले नेपालको कुरा सुन्नुपर्छ, जिम्मेवारी लिनुपर्छ र कदम चाल्नुपर्छ।’
संयुक्त राष्ट्र संघको ८१औं महासभा सेप्टेम्बर ८ देखि न्युयोर्कमा सुरु हुँदैछ भने उच्चस्तरीय बैठक सेप्टेम्बर २२ देखि सुरु हुने तालिका छ। प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुने तयारी छ।
प्रकाशित: १९ भाद्र २०८३ ११:०१ शुक्रबार