राजनीति

रौतहट घटनाबारे रास्वपालाई जेनजी अभियन्ता तनुजाको प्रश्न : आफ्नालाई जोगाउने, अरूलाई दोष थोप्ने ?

जेनजी अभियन्ता तनुजा पाण्डेले रौतहटमा भएको घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले मौनता साध्न नहुने बताएकी छिन्।

गत भदौ २१ गते एमाले मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि देशभर आक्रोश भयो र गलतलाई गलत भनियो, नेतृत्वलाई प्रश्न पनि गरियो तर हिजो रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले ४ वर्षीया अल्फा खातुनको ज्यान गयो र यो पटक आवाज हराएको उनले बताइन्। 

पीडितको पक्षमा जो उभियो वा बोल्यो उसैलाई ट्याग “राजनीति नगर”, “एजेन्डा नबनाऊ” भन्ने लगाइएको उल्लेख गर्दै उनले दुर्घटना रोक्न नसकिने तर जवाफदेही भने हुन सकिने भनाइ राखिन्।

पाण्डेले जवाफदेहिता, न्यायको कुरा गर्नु कहिलेदेखि राजनीति भयो? मृत्युमा दुःख व्यक्त गर्नु एजेन्डा भयो? भन्दै प्रशन समेत गरिन्। उनले घण्टीका साथीहरू र रुटिन अफ नेपाल बन्दलाई सम्बोधन गर्दै झोला धेरै रङका हुने र संवेदनशीलता र मानवतासँग सम्बन्धित विषयमा सबै रङका झोला बिसाइएको राम्रो हुने तर्क गरिन्। 

यस्तो छ उनको भनाइ:

भदौ २१ मा एमाले मन्त्रीको गाडीले बच्चीलाई ठक्कर दियो।देशभर आक्रोश भयो।

गलतलाई गलत भनियो, नेतृत्वलाई प्रश्न गरियो।

हिजो रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले ४ वर्षीया अल्फा खातुनको ज्यान गयो।

यो पटक आवाज हरायो।

जो बोल्यो,पीडितको पक्षमा उभियो,

उसैलाई ट्याग लगाइयो “राजनीति नगर”, “एजेन्डा नबनाऊ”।

दुर्घटना रोक्न सकिँदैन, तर जवाफदेही हुन सकिन्छ।

जवाफदेहिता, न्यायको कुरा गर्नु कहिलेदेखि राजनीति भयो? मृत्युमा दुःख व्यक्त गर्नु एजेन्डा भयो?

हिजो मैले अरूको गल्तीमा बोल्नु नैतिकता थियो,

आज तपाईंहरूको पार्टीको गल्तीमा बोल्नु राजनीति हो?  

राजनीति त त्यही हो जसले दोष छुपाउँछ र आफ्नो पार्टी बचाउँछ।

गलत त गलत नै हो, पार्टी जेसुकै होस्।

प्रिय घण्टीका साथीहरू र Routine of Nepal banda , झोला धेरै रङका हुन्छन्। संवेदनशीलता र मानवतासँग सम्बन्धित विषयमा सबै रङका झोला बिसाइएको राम्रो हुन्छ। परिवारलाई शक्ति, पीडितलाई न्याय, यो हाम्रो साझा जिम्मेवारी हुनपर्छ।

आफ्नालाई जोगाउने, अरूलाई दोष थोप्ने पुरानाहरूभन्दा तपाईंहरू फरक हुनुपर्छ।

प्रकाशित: २३ माघ २०८२ १३:०१ शुक्रबार