अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले मन्त्रिपरिषद् गठन प्रक्रियामा युवा पुस्ता जेन-जी लाई सहभागी गराउने नवीन प्रयासको थालनी गरेकी छन्।
परम्परागत नातावाद र कृपावादको संस्कृति तोड्दै विज्ञ र सक्षम व्यक्तिहरूलाई सरकारमा सामेल गराउने उद्देश्यले युवाहरूले अनलाइन प्लेटफर्ममार्फत मन्त्री र सल्लाहकारका लागि सुझाव संकलन अभियान सुरु गरेका छन्।
प्रधानमन्त्री कार्कीले नै ‘जेन जी’ पुस्ताको भावनालाई सम्मान गर्दै उनीहरूको सहभागितामा मन्त्रिपरिषद् गठन गर्ने इच्छा देखाएपछि युवाहरूले यो अभियान थालेका हुन्।
उनीहरूले विभिन्न सामाजिक सञ्जाल र अनलाइन फारममार्फत विभिन्न मन्त्रालयका लागि योग्य, सक्षम र विषयविज्ञ व्यक्तिहरूको नाम सिफारिस गर्न आम नागरिकलाई आह्वान गरेका छन्।
यसअघि राजनीतिक भागबण्डा, व्यक्तिगत सम्बन्ध र विज्ञताभन्दा पनि पहुँचका आधारमा मन्त्री नियुक्त गर्ने परिपाटीले देशले गति लिन नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो।
जेन-जीले थालेको अभियानले उक्त गलत परम्परालाई तोड्दै जनसहभागिता र विज्ञतालाई प्राथमिकता दिने विश्वास गरिएको छ।
कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउने मुख्य कार्यदेश पाएको छ। छोटो कार्यकाल भए पनि सक्षम र जनउत्तरदायी मन्त्रिपरिषद् गठन गरेर सुशासनको जग बसाल्ने र निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्ने चुनौती यो सरकारसामु छ।
प्रकाशित: २८ भाद्र २०८२ १६:१४ शनिबार



