नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको प्रधानमन्त्रीको कार्यकाल दुई पटक मात्र हुनुपर्ने बताएका छन्।
पार्टीको दोस्रो विशेष केन्द्रीय महाधिवेशनको बन्द सत्रमा सोमबार समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले उक्त व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्ता र विशेषगरी युवा पुस्ताको भावनाअनुसार देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री) को दुई कार्यकाल मात्रै हुने प्रस्ताव उक्त विशेष महाधिवेशन पारित गरेको बताएका छन्।
यो प्रावधान लागू गर्न नेपाली कांग्रेसको विधान संशोधन गरिने उनले उल्लेख गरेका छन्। नेपाली कांग्रेसको तर्फबाट अब कोही पनि व्यक्ति तेस्रोपटक प्रधानमन्त्री नहुने गगनको भनाइ छ।
यसैगरी उनले यो प्रावधान लागू गर्न नेपालको संविधानसमेत संशोधन गर्न नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने संकल्प यो विशेष महाधिवेशन गरेको बताए।
'नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्ता र विशेषगरी युवा पुस्ताको भावनाअनुसार देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री) को दुई कार्यकाल मात्रै हुने प्रस्ताव यो विशेष महाधिवेशन पारित गर्दछ। यो प्रावधान लागू गर्न नेपाली कांग्रेसको विधान संशोधन गरिने छ। नेपाली कांग्रेसको तर्फबाट अब कोही पनि व्यक्ति तेस्रोपटक प्रधानमन्त्री हुने छैन। यसैगरी यो प्रावधान लागू गर्न नेपालको संविधानसमेत संशोधन गर्न नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने संकल्प यो विशेष महाधिवेशन गर्दछ,' महामन्त्री थापाले गरेको प्रस्तावमा उल्लेख गरिएको छ।
प्रकाशित: २८ पुस २०८२ १३:५५ सोमबार