नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमाथि विभिन्न प्रकरणमा आरोप जोडेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। उनले सरकारसँग सम्बन्धित विषयमा छानबिन गर्ने जिम्मेवारी सरकारकै भएको बताउँदै कांग्रेसले लोकतन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउने बताएका छन्।
कांग्रेसमाथि लागेको आरोपबारे प्रतिक्रिया दिँदै महामन्त्री पौडेलले प्रश्न उठेका विषयमा गहिराइमा पुगेर छानबिन गर्नुपर्ने बताए। उनले ती विषय सत्य हुन् भन्ने कांग्रेसको दाबी नभएको स्पष्ट पार्दै सत्य हुन् वा होइनन् भन्ने कुरा छानबिनबाटै पुष्टि हुनुपर्ने धारणा राखे।
‘हामीले अहिले जुन प्रकरणहरू भइरहेका छन्, त्यसको गहिराइमा पुगेर छानबिन गर्नुपर्छ। ती आएका विषय सबै सत्य हुन् भन्ने हाम्रो भनाइ पनि होइन, तर ती सत्य हुन् या होइनन् भनेर छानबिन त गर्नु पर्यो नि,’ उनले भने।
पौडेलले कांग्रेस कुनै सरकार ढाल्न वा निर्वाचित सरकारलाई असहयोग गर्न नलागेको पनि स्पष्ट पारे। सरकार पाँच वर्ष चलोस् भन्ने कांग्रेसको चाहना रहेको भन्दै सरकारले राम्रा काम गरे समर्थन गर्ने उनले बताए।
‘हामी कुनै सरकार ढाल्न लागिरहेका छैनौँ। निर्वाचित सरकारलाई असहयोग गर्न लागिरहेका छैनौँ, सरकार पाँच वर्ष चलोस्। सरकारले राम्रा काम गर्यो भने हामी त्यसलाई समर्थन गर्छौँ,’ उनले भने।
तर सरकार बिचौलियासँग जोडिने र विभिन्न खाले विषय सार्वजनिक हुने अवस्थामा प्रतिपक्षले छानबिनको माग गर्न नपाउने भन्ने प्रश्न गर्दै उनले हिजोका र आजका सबै प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने बताए।
उनले कांग्रेसले कसैको मनोमानी र स्वेच्छाचारितालाई संस्थागत हुन नदिने पनि बताए। व्यक्ति प्रधान हुने व्यवस्थालाई कांग्रेसले स्वीकार नगर्ने भन्दै पौडेलले विधि संस्थागत गर्ने र विधिको शासन कायम गर्ने आफ्नो पार्टीको मान्यता रहेको उल्लेख गरे।
‘कानुनी छिद्रहरू कायम हुने स्थिति हुनु हुँदैन, कानुन सम्पूर्ण रूपमा पालना भएको हुनुपर्छ,’ उनले भने।
महामन्त्री पौडेलले पछिल्लो समय पत्रकारलाई हिरासतमा लिने र पत्रिकाका कार्यालयमा गएर खानतलासी गर्ने घटनाप्रति पनि आपत्ति जनाए। उनले यस्तो कार्य गलत र गैरकानुनी भएको टिप्पणी गर्दै संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताविरुद्ध जाने जोकोहीलाई कारबाही गर्नुपर्ने बताए।
‘नेपालको संविधानले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेको छ। संवैधानिक व्यवस्था विरुद्ध कोही जान्छ भने किन गएको हो, जान मिल्दैन, जानेहरूलाई कारबाही गर्नुपर्छ, त्यो कुरा कांग्रेसले भन्छ,’ उनले भने।
अदालत, प्रहरी र सरकारसँग जोडिएका विषयमा प्रश्न उठाउँदा जबर्जस्ती कांग्रेसलाई जोडेर भ्रम सिर्जना गर्न खोजिएको उनको भनाइ छ ।
‘यो नेपाली कांग्रेससँग जोड्नु यसको कुनै तुकै छैन । कपोकल्पित कुरा गरेर भ्रम सिर्जना गरेर के कांग्रेस कमजोर हुने वाला छ ? डराउने वाला छ?’ पौडेलले प्रश्न गरे ।
उनले लोकतन्त्रमाथि कसैले प्रहार गरे कांग्रेसले त्यसको प्रतिप्रश्न गर्ने र प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउने दाबी गर्दै कांग्रेसलाई विभिन्न प्रकरणसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास गलत भएको बताए ।
प्रकाशित: १७ कार्तिक २०८३ ०७:१६ मंगलबार