नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौंमा आवश्यक पर्दा ५ हजार जनालाई उभ्याउन सक्ने आधार तत्काल तयार गर्न जनसंगठनका इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन तथा संगठनलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने बताए।
महासचिव पोखरेलले संकटका बेला संगठन र कार्यकर्तासँगको सम्पर्कलाई थप सघन बनाउनुपर्ने भन्दै नेतृत्वको वास्तविक क्षमता र खुबी संकटका समयमा नै परीक्षण हुने हुदाँ धैर्यता, एकता र स्पष्ट दृष्टिकोणका साथ अघि बढ्नुपर्ने बताए।
‘जति बेला संकट गहिरिन्छ, त्यति बेला कार्यकर्तालाई सम्पर्कमा राख्ने कुरा अझ महत्वपूर्ण हुन्छ। नेतृत्वको खुबी र क्षमता पनि संकटमै देखिन्छ,’ उनले भने, ‘संकटका बेला हतारमा गरिने निर्णयले दुर्घटनातर्फ पुर्याउन सक्छ। त्यसैले धैर्यता र एकता कायम राखेर अघि बढ्नुपर्छ।’
पार्टीभित्र समस्या हुदाँ समस्या माथिसम्म नपुर्याउने र माथिका समस्या मात्र देखाउने प्रवृत्ति संगठनका लागि हितकर नभएको भन्दै पार्टीमा समस्या छ कि छैन भन्नेभन्दा पनि त्यसको समाधान कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनले बताए।
महासचिव पोखरेलले जनताको भरोसा र सम्बन्धलाई विश्लेषण गर्दै पार्टीले जनतासँगको सम्बन्धलाई निरन्तर बलियो बनाउन नसके संगठनात्मक चुनौती थप जटिल बन्ने बताए।
हालैको निर्वाचन परिणाममा पार्टी पंक्तिबाट प्राप्त रिपोर्ट र बुझाइ निर्वाचनको दुई दिनअघिसम्म उत्साहजनक भएपनि परिणाम अप्रत्याशित र अकल्पनीय रूपमा आएको बताउँदै निर्वाचन परिणामबाट पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको सुनाए।
‘हामी जनतासँग अपिल गर्ने ठाउँमा मात्र सीमित भयौं। जनतासँगको हाम्रो सम्बन्ध कमजोर बन्न पुगेको छ,’ उनले भने, ‘जनताले हामीलाई विश्वास नगरेका होइनन्। उनीहरूले अहिलेका लागि घण्टीमा मतदान गरेर हामीलाई सबक सिकाउने प्रयास गरेका हुन्। भविष्यमा आवश्यक पर्दा चाहिने शक्ति एमाले नै हो भन्ने बुझाइ जनतामा अझै कायम छ।’
पार्टीको सांगठनिक जीवनलाई व्यवस्थित र गतिशील बनाउन सदस्यता नवीकरण अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिदैँ पार्टी सदस्यताको नियमित नवीकरणले संगठनलाई चलायमान र अनुशासित बनाउनुपर्ने बताए।
जनसंगठनहरूले आफ्ना समुदायको हितका लागि काम गर्नुपर्ने र सदस्यता विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै समुदायमा पुगेर नयाँ सदस्यलाई संगठित गर्न आग्रह गरे।
प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको पनि आलोचना गर्दै उक्त अभिव्यक्तिलाई घातक, आपत्तिजनक तथा नेपालको भू राजनीतिक संवेदनशीलता विपरीत रहेको महासचिव पोखरेलले बताए।
यस्ता अभिव्यक्तिले नेपालको राष्ट्रिय हित र भविष्यमा समेत नकारात्मक प्रभाव पार्न सक्ने उनको तर्क छ।
प्रकाशित: १९ जेष्ठ २०८३ १८:१३ मंगलबार