नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान, पार्टी विधान र अदालतको फैसलाका कारण कांग्रेसको महाधिवेशन तोकिएको समयभन्दा एक घण्टा पनि नसर्ने दाबी गरेका छन्। पार्टीका नेता तथा कार्यकर्तामा महाधिवेशनको तिथि मिति सर्ने हो कि भन्ने आशङ्का रहेको भन्दै थापाले कुनै पनि अलमलमा नपर्न आग्रह गरे।
‘केही दिनमै कांग्रेसको अधिवेशन प्रक्रिया प्रारम्भ हुन्छ। असोज ३ र ४ गते वडा अधिवेशन र असोज १६ गतेबाट महाधिवेशनको प्रक्रिया सुरु हुन्छ,’ थापाले भने, ‘हामी संविधान, पार्टीको विधान र अदालतको फैसलाले बाँधिएका छौँ। महाधिवेशन एक घण्टा पनि सर्दैन।’
महाधिवेशनपछि पार्टी नेतृत्व नागरिकसँगको सम्बन्ध थप बलियो बनाउन देशभर जाने उनले बताए। महाधिवेशनको प्रतिस्पर्धामा जित्नेहरू नेतृत्वमा रहने र अवसर नपाउने साथीहरूलाई पनि साथमा लिएर ७७ वटै जिल्लामा पुग्ने उनको भनाइ छ।
संगठन सुदृढीकरणका लागि आफूले आवश्यकताअनुसार नरम र निर्मम दुवै नीति लिने थापाले स्पष्ट पारे। ‘पार्टीभित्रको फोहोर सफा गर्ने कुरामा निर्मम हुने हो, तर आन्तरिक एकता कायम राख्न नरम हुने हो। मैले त्यही सिकेको छु,’ उनले थपे ।
साथै कार्यक्रममा बोल्दै महामन्त्री थापाले वर्तमान प्रधानमन्त्रीको आर्थिक नीति र निजी क्षेत्रप्रतिको दृष्टिकोणको कडा आलोचना समेत गरेका छन् । देशको अर्थतन्त्रलाई सही दिशामा लैजान स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा सरकारले ध्यान नदिएको उनको आरोप छ।
‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन। हि हेट्स प्राइभेट सेक्टर ,’थापाले भने, ‘यो मेरो अनुमान मात्र होइन, उहाँका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले नै यो स्पष्ट पारेको छ।’
सरकारी उद्योगहरू दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना र नेपाल औषधि लिमिटेड सञ्चालन भई मुनाफा कमाऊन् भन्ने आफ्नो शुभेच्छा रहे पनि राज्य सञ्चालकले मुलुकको वर्तमान आर्थिक वास्तविकता बुझ्नुपर्ने थापाले बताए।
२०४६ सालको परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अवलम्बन गरेको खुला, उदार र बजारमुखी अर्थतन्त्रको नीतिकै कारण मुलुकमा आर्थिक विकासको आधार बनेको स्मरण गराउँदै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्र अर्थतन्त्र बलियो बनाउन सकिने उनको भनाइ छ।
प्रकाशित: २६ भाद्र २०८३ १२:०९ शुक्रबार



