नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तोकिएको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।
मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले समयको चापलाई ध्यानमा राखेर तय गरिएको कार्यतालिकाअनुसार महाधिवेशनका प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।
उनले कांग्रेस अहिले संवैधानिक व्यवस्था, पार्टी विधान र अदालतको फैसलाबाट समेत बाँधिएको उल्लेख गर्दै महाधिवेशनका सबै प्रक्रिया निर्धारित समयमै पूरा गर्नुपर्ने बताए।
केन्द्रीय कार्यसमितिले असोज १६ गतेलाई महाधिवेशनको अन्तिम मिति र स्थान तय गरिसकेको भन्दै थापाले सोही मितिलाई आधार बनाएर जिल्ला तथा अन्य तहका अधिवेशनहरू सञ्चालन गर्न आग्रह गरे।
‘अदालतले असोज १६ गतेलाई महाधिवेशनको अन्तिम आधार मानेको छ। त्यसैले हामीसँग अब समयको सुविधा छैन,’ उनले भने, ‘हामीले अत्यन्तै छोटो अवधिभित्र सबै प्रक्रिया टुङ्ग्याउनुपर्ने चुनौती छ।’
सभापति थापाले अधिवेशन प्रक्रिया सम्पन्न हुँदै गर्दा कुनै पनि प्रश्न नउठ्ने गरी निष्पक्ष र पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिए। उनले क्रियाशील सदस्यताको विवरण यसपटक डिजिटलाइज्ड भएकाले विगतको तुलनामा प्रक्रिया केही सहज हुने अपेक्षा व्यक्त गरे।
तर सदस्यता विवरण तथा अधिवेशन प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता र पूर्वाग्रह हुन नहुने उनले स्पष्ट पारे। थापाले जिल्ला तहमा हुने अधिवेशनलाई थप व्यवस्थित बनाउन कानून व्यवसायी, शिक्षक, प्राध्यापक लगायत विभिन्न पेशाकर्मीलाई समेत सहभागी गराउनुपर्ने बताए।
पार्टी विधानमा भएका नयाँ व्यवस्था, निर्वाचन निर्देशिका तथा नियमबारे स्पष्ट भएर अघि बढे भविष्यमा आउन सक्ने कानुनी जटिलता कम गर्न सकिने बताए।
प्रकाशित: २ भाद्र २०८३ १८:३२ मंगलबार