नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको १५ औं महाधिवेशन आगामी आमनिर्वाचनभन्दा अगाडि नै गर्नुपर्नेमा जोड दिएका छन्।
उनले हालैको जेन-जी युवा आन्दोलनले उठाएका सवालहरूको सम्बोधन गर्न र पार्टीलाई नीतिगत तथा नेतृत्वगत रूपमा पुनर्जीवन दिएर मात्र निर्वाचनमा जानुपर्ने बताएका हुन्।
बुधबार नागरिक न्युजको डिजिटल कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै पौडेलले महाधिवेशनले मात्रै पार्टीलाई वैचारिक रूपमा स्पष्ट पार्ने र जनताको विश्वास जित्न सकिने आधार तयार गर्ने धारणा राखे।
जारी केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको मितिलाई लिएर फरक-फरक प्रस्तावहरू आएको स्वीकार्दै पौडेलले आफूले निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको बताए।
उनले भने, ‘मैले यही पौष ८, ९ र १० गते महाधिवेशन गर्नुपर्छ भनेर प्रस्ताव गरेको छु। मूल विषय निर्वाचनअघि वा पछि कहिले गर्ने भन्नेमा हो।’
नेता पौडेलले निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने आफ्नो अडानको मुख्य कारण हालैको युवा आन्दोलन भएको बताए। उनले भने, ‘यो जेन-जी आन्दोलनसँग पनि जोडिएको विषय हो। त्यो आन्दोलनले तिम्रो नेतृत्व फेर, तिमी नीतिगत रूपमा प्रस्ट भएर आऊ, भ्रष्टाचार र बेथितिलाई रोक भनेको छ। त्यो खबरदारी कांग्रेसलाई पनि हो।’
उनले थपे, ‘त्यो खबरदारीलाई हामीले महसुस गर्नुपर्यो। हामी सच्चिन तयार छौं भन्ने सन्देश दिनका लागि पनि निर्वाचनअघि महाधिवेशन जरुरी छ।’
प्रकाशित: १९ कार्तिक २०८२ १९:२५ बुधबार