राजनीति

जेन-जी प्रदर्शन: सरकारले बनायो छानबिन समिति, सामाजिक सञ्जाल नखुल्ने

फाइल तस्बिर

सरकारले जेन-जीले सोमबार गरेको प्रदर्शनबारे छानबिन गर्न समिति बनाएको छ । साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा भएका सम्पूर्ण घटनाबारे छानबिन गर्न समिति बनाउने निर्णय गरेको हो । समितिलाई १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ ।  

यस्तै सरकारले तत्काल सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नखोल्ने निर्णय पनि गरेको छ । गत बिहीबार मन्त्रीस्तरीय निर्णय गर्र्दे सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सूचीकृत नभएका सम्पूर्ण सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।  

बैठकमा गृहमन्त्री रमेश लेखक, स्वास्थ्यमन्त्री प्रदीप पौडेललगायत मन्त्रीले सामाजिक सञ्जाल दर्ता कुटनीतिक ढंगले समाधान खोज्दै जाने र तत्कालका लागि सञ्चालन खुला गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालका सञ्चालक कम्पनीहरुले खुलमखुला चुनौती दिएकाले नियमन नगरी तत्काल खोल्न नसकिने अडान लिएका थिए ।  

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको प्रदर्शनबारे बिफ्रिङ गर्दै आन्दोलनमा घुसपैठ भएको बताएका थिए । 

प्रकाशित: २३ भाद्र २०८२ २१:४१ सोमबार