राजनीति

रक्षा बम भन्छिन्ः जनादेशबिना संविधान चलाउन मिल्दैन

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र तत्काल संविधान संशोधनको प्रस्ताव राखिएको विवादास्पद ‘ड्राफ्ट’लाई जेनजी  अगुवा रक्षा बमले ‘अलोकतान्त्रिक र खतरनाक हस्तक्षेप’ बताएकी छन्। 

विगत केही सातादेखि केही स्वार्थ समूहद्वारा प्रेरित व्यक्तिहरूले तयार पारेको भनिने उक्त ड्राफ्टबारे बमले सामाजिक सञ्जालमार्फत असहमति व्यक्त गरेकी छन्। ‘संविधान संशोधनजस्तो संवेदनशील मुद्दा दबाब मार्फत अघि सार्ने प्रयास अस्वीकार्य छ,’ उनले भनिन्, ‘हामी संविधान पुनरावलोकनको पक्षमा छौँ, तर त्यसका लागि जनताको स्पष्ट म्यान्डेट अपरिहार्य छ।’

जो कोही व्यक्ति वा समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता एजेन्डा अघि सार्न चाहन्छ भने चुनावी घोषणापत्रमार्फत जनतासामु जानुपर्ने र यही लोकतान्त्रिक बाटो रहेको उनले बताइन्।

‘देश जादुको छडीले होइन, विधिको शासन र लोकतान्त्रिक मूल्यले चल्छ,’ बमले भनिन्, ‘सङ्क्रमणको यस्तो बेला संविधानका मूल मर्ममै प्रहार गर्ने खेल स्वीकार्य छैन।’

प्रकाशित: १४ मंसिर २०८२ १०:५२ आइतबार