राजनीति

जेन-जी पुस्ताले मात्र केही गर्न सक्दैनः झलनाथ खनाल

फाइल।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जेन-जी नाम दिइएको पुस्ताले मात्र संगठित नभईकन कुनै पनि परिवर्तन ल्याउन नसक्ने बताएका छन्।

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन संगठित राजनीतिक शक्ति आवश्यक पर्ने र त्यसका लागि पार्टीको विकल्प नभएको बताएका हुन्।

‘यो जेनजी एउटा पुस्ताले केही पनि गर्न सक्दैन। पुस्ताको मुभमेन्टले मात्र केही हुन सक्दैन,’ खनालले भने, ‘उनीहरू आफैँ नयाँ ढंगले संगठित हुनुपर्ने आवश्यकता छ।’

उनले हालैका प्रदर्शनका क्रममा देखिएका युवाहरूको परीक्षण भइसकेको र व्यक्तिगत रूपमा गरिने प्रयासबाट केही हासिल नहुने देखिएको टिप्पणी गरे।

खनालले यदि युवाहरू चुनावमा जान चाहन्छन् भने पार्टीको रूपमा आउनुपर्नेमा जोड दिए। उनले भने, ‘अब चुनावमा जाने हो भने त पार्टीको रूपमा आउनुपर्‍यो। पार्टीबिना व्यक्तिगत रूपले गर्ने कुरा भनेको त हामीले देखिसक्यौँ, परीक्षा भइसक्यो तिनीहरूको पनि।’

उनले युवाहरूलाई आफ्नो विचार मिल्ने वामपन्थी, दक्षिणपन्थी वा मध्यमार्गी कुनै पनि पार्टीमा संगठित हुन वा संविधानले दिएको अधिकार प्रयोग गरी आफ्नै नयाँ पार्टी बनाउन सुझाव दिए।

वर्तमान राजनीतिक परिस्थितिलाई जटिल भन्दै उनले सबै पक्षले शान्ति सुरक्षा स्थापनाका लागि प्रयत्न गर्नुपर्ने बताए। उनले भने, ‘अहिले सबैले मुलुकमा शान्ति सुरक्षा स्थापना गर्नको लागि प्रयत्न गर्नुपर्छ। विगतमा लागेका घाउचोटहरू छन्, त्यसमा मलमपट्टी गर्ने, क्षतिपूर्ति गर्ने कुराहरू गर्नुपर्छ।’

उनले घोषित चुनाव सम्पन्न गर्नका लागि वातावरण बनाउनु सबैको कर्तव्य भएको बताए। सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी गर्न नसके चुनाव हुन नसक्ने उनको भनाइ थियो।

‘शान्ति सुरक्षाको ग्यारेन्टी गर्ने काम सरकारको हो। त्यो रोक्ने हुती, क्षमता हामीसँग छ भनेर प्रदर्शन गर्न सक्नुपर्छ। त्यो आत्मविश्वास सिर्जना गर्न सकियो भने अवश्य चुनाव हुन्छ, चुनाव नै समाधान हो,’ उनले भने।

तर, यदि चुनाव हुन नसक्ने स्थिति आएमा निकासका लागि नयाँ संवैधानिक बाटो खोज्नुपर्ने उनले बताए।

प्रकाशित: १७ कार्तिक २०८२ १५:४६ सोमबार