जेन–जीका प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताउँदै सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनको घोषणा गरेको छ।
काठमाडौंको डिल्लीबजारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त समूहले आफ्ना एजेण्डासहित भोलिदेखि सडक आन्दोलन सुरु गर्ने जनाएको हो।
सम्मेलनमा बोल्दै अभियन्ता ढुंगानाले वर्तमान सरकारको औचित्य र वैधानिकता समाप्त भइसकेको आरोप लगाए।
प्रधानमन्त्रीले केवल पद ओगट्ने काम मात्र गरेको र उनीबाट निर्वाचन निष्पक्ष हुने विश्वास नभएको भन्दै उनले देशलाई अन्योलमा राख्नुभन्दा सर्वपक्षीय सरकार गठन गरेर निकास दिनुपर्नेमा जोड दिए।
उनले सरकार औचित्यहीन भएको दाबी गर्दै देशलाई समृद्ध र सुशासित बनाउन तत्काल विकल्प खोजिनुपर्ने बताए।
समूहले ‘संयुक्त जेन–जी एजेण्डा’ मार्फत विभिन्न मागहरू अघि सारेको छ। जसमा गोलमेज सम्मेलन वा संविधान परिमार्जन सभा गठन गरी सर्वसहमतिमा संविधान सुधार गर्नुपर्ने, राज्य पुनर्संरचना र राजनीतिक स्थिरता कायम हुनुपर्ने विषय समेटिएका छन्।
सुशासनका पक्षमा बोल्दै उनीहरूले हालसम्मका सबै तह र निकायमा भएका भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग गठन गरी दोषीलाई कारबाही गर्नुपर्ने, न्यायालयको विश्वसनीयता बढाउन केही संवेदनशील विषय बाहेकका मुद्दाको फैसला प्रत्यक्ष प्रसारण (लाइभ) गर्नुपर्ने तथा ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने भावना अनुरुप विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गरिनुपर्ने माग राखेका छन्।
यसका साथै, सहकारी, लघुवित्त र मिटरब्याज पीडितका समस्या तत्काल समाधान गरी ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने विषयलाई पनि प्रमुखताका साथ उठाइएको छ।
आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूलाई तत्काल रिहा गर्न र उनीहरूमाथि लगाइएका मुद्दा खारेज गर्न माग गर्दै समूहले आन्दोलनका घाइतेको निःशुल्क उपचार, क्षतिपूर्ति र सहिद परिवारको उचित व्यवस्थापन हुनुपर्ने बताएको छ।
समूहले भोलि बिहान ११ बजे माइतीघर मण्डलाबाट सुरु हुने आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने स्पष्ट पारेको छ।
ढुंगानाले शान्तिपूर्ण प्रदर्शनको सुरक्षा जिम्मा राज्यले लिनुपर्ने बताउँदै आन्दोलनको आचारसंहिता समेत छिट्टै सार्वजनिक गरिने जानकारी दिए।
यो आन्दोलन कुनै एक समूह वा पुस्ताको मात्र नभई समग्र देशको भविष्यसँग जोडिएको बताउँदै उनले यसमा सबै पक्षको साथ र सहयोगका लागि अपिल गरेका छन्।
प्रकाशित: ६ पुस २०८२ १५:१६ आइतबार