आफूलाई ‘जेनजी २.०’ भनेर चिनाएको एक समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कानुनी दायरामा नल्याए आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचन बिथोल्ने चेतावनी दिएको छ।
शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै उक्त समूहले आफ्ना विभिन्न माग पूरा नभए निर्वाचन हुन नदिने घोषणा गरेको हो।
पत्रकार सम्मेलनमा समूहका प्रवक्ता अविन लिम्बुले आफ्ना मुख्य मागहरू प्रस्तुत गरेका थिए।
उनीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, अन्तरिम संविधान जारी गर्नुपर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्ने, र सम्पूर्ण गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ) खारेज गर्नुपर्ने माग राखेका छन्। यी मागहरू पूरा नभए निर्वाचन विथोल्ने उनीहरूको चेतावनी छ।
कार्यक्रममा जेनजी २.० ले आन्दोलनलाई व्यवस्थित गर्न विभिन्न विभागहरू गठन गरेको जानकारी दिएको छ। जसअनुसार, पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई विज्ञ टोली प्रमुखको जिम्मेवारी दिइएको छ।
त्यस्तै, कुन्दन कुशवाहालाई सदस्यसचिव, अविन लिम्बुलाई प्रवक्ता तथा वार्ता समिति प्रमुख, चिरञ्जीवी भट्टराईलाई जनसम्पर्क विभाग प्रमुख, र सञ्जय पौडेललाई घाइते योद्धा तथा सहिद परिवार समन्वय विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ।
भ्रष्टाचार निर्मूल तथा नियन्त्रण विभागमा प्रज्वल लामा र सीताराम राई, प्रचारप्रसारमा विजय पराजुली र सचिवालय परिचालनमा रविनकुमार साह रहेका छन्।
प्रवक्ता लिम्बुले जेन-जी आन्दोलनको नाममा केही व्यक्तिहरूले विभिन्न दूतावासमा गएर मन्त्री पद मागेर आन्दोलनको मर्म र भावनामाथि प्रहार गरेको आरोप लगाए। उनले त्यस्ता गतिविधिले जेनजी आन्दोलनलाई बदनाम गरेको भन्दै सचेत रहन आग्रह गरे।
प्रकाशित: २५ आश्विन २०८२ २०:०९ शनिबार