‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि प्रदेशसभाको कामकारबाही झन्डै डेढ महिनादेखि प्रभावित भएको छ। पछिल्लो पटक गत भदौ १६ मा प्रदेशसभा बैठक बसेको थियो। त्यसयता दुई पटक बैठक डाकिए पनि अन्तिम समयमा स्थगित भएको छ। बैठक कहिले बस्छ भन्ने टुंगो छैन।
भदौ २५ मा बोलाइएको बैठक त्यसको अघिल्लो दिन भदौ २४ मा ‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेपछि बस्न सकेन। ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण अनिश्चितकालसम्म स्थगित भएको बैठक गत बुधबार कृषि, भूमि व्यवस्था र सहकारी मन्त्रालयको सभाकक्षमा बस्ने तय भएको थियो।
उक्त दिन पनि प्रदेशसभा बैठक सञ्चालन हुन सकेन। अन्तिम समयमा विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले बैठक स्थगित भएको सूचना निकाल्यो। अर्को सूचना नआएसम्म बैठक स्थगित भएको सचिवालयले जनाएको छ। सभामुख कृष्णप्रसाद धितालले प्राविधिक तयारी नपुगेका कारण बैठक स्थगित भएको बताए।
‘नयाँ ठाउँमा बैठक बस्नुपर्ने भएकाले व्यवस्थापकीय र प्राविधिक तयारी पनि सोही अनुसार गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अब तिहारपछि नै बैठक बस्छ, त्यतिन्जेलसम्म तयारी पनि पुग्छ।’ गत बुधबार बोलाइएको बैठकमा गाँजा खेती र खानी तथा खनिजसम्बन्धी विधेयकमा दफाबार छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको थियो। प्रदेशसभा बैठक प्रभावित हुँदा कानुन निर्माणमा ढिलाइ हुने देखिएको छ।
पुनः प्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायत संरचनामा क्षति पुगेकोले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको हो। हालै प्रदेशसभाको नयाँ भवन निर्माण सुरु भएकोले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ।
‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनसहित मातहतका भवन, सवारीसाधनलगायतमा तोडफोड र आगजनी गरेका थिए। प्रदेशसभा भवन काठ र ढुंगाबाट बनेको पुरानो शैलीको संरचना भएकोले आगलागीले पूर्ण रूपमा क्षति पु¥याएको थियो। प्रदेशसभा सचिवालय रहेको भवन, विषयगत समिति, संसदीय दलका कार्यालय आदिमा पनि आगजनी भएको थियो। रासस
प्रकाशित: २७ आश्विन २०८२ १२:३८ सोमबार