राजनीति

गलोपा नेतृ नीशा अधिकारीको माग : गृहमन्त्री रञ्जु दर्शनालाई बनाइयोस्

गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) की नेतृ नीशा अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनालाई गृहमन्त्री बनाउन माग गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीबाट सुधन गुरुङ बाहिरिएपछि सो पदमा रञ्जु दर्शना उपयुक्त पात्र भएको दाबी गरेकी हुन्। अधिकारीले अहिले चर्चामा रहेका अन्य नाम (अमरेश कुमार सिंह, विश्वराज पोखरेल, मनिष झा, राजुनाथ पाण्डे, गोविन्द पन्थी र दीपक बोहरा) हरूमा आफ्नो असहमति रहेको उल्लेख गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘गृहमन्त्री रञ्जु दर्शनालाई बनाइयोस्। उहाँमा आँट छ र न्याय दिलाउन चुक्नु हुँदैन भन्ने विश्वास छ।’ उनले अगाडि लेखेकी छिन, ‘जनताले खोजेको जस्तो मिलेर आउने काम रञ्जुजीहरूबाट सुरु भएको हो। उनी पहिलो महिला गृहमन्त्री मात्र होइन, अब्बल गृहमन्त्री बन्न सक्छिन् र नागरिकले खोजेको जस्तो आँट र त्याग देखाउन सक्छिन्।’

नेतृ अधिकारीले तयारीबिना सुकुम्बासी बस्ती भत्काएको भन्दै सरकारको आलोचना गरेकी छन्। साथै, उनले क्रिकेट र विकासका योजनाहरूमा सरकारले अपनाएको शैलीप्रति पनि कडा आलोचना गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘हाम्रो सफ्ट पावर क्रिकेटको कुरा। ३५ दिनको अल्टिमेटम। एउटा क्रान्तिपछि आएको सरकारको तरिका जहिले पनि विनाश किन हुन्छ? विकल्प बनाएर अल्टिमेटम दिने प्रगतिशील विकास खोइ? आफैँ भताभुंग पार्ने, अन्योलमा पार्ने अनि आफैँले समाधान ल्यायौँ भनेर सानो कुरालाई वैकल्पिक मिडियाबाट ठुलो बनाउने अनि भ्रममा राख्ने?’

उनका अनुसार पहिलेका सरकार भएनन् भनेर नयाँ चाहिएको हो। तर ढंग भएको नयाँ चाहिएको उनको भनाइ रहेको छ। सेयर विवादका कारण गृहमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि अहिले सो मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाहसँग रहेको छ।  

प्रकाशित: १४ वैशाख २०८३ १२:२४ सोमबार