राजनीति

गगनजीले निरन्तरतामा क्रमभङ्ग गरेर नयाँ इतिहास रच्नुभयो: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निरन्तरतामा क्रमभङ्ग गर्दै पार्टीलाई नयाँ इतिहासतर्फ डोर्‍याएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकको लोकतन्त्र, संविधान र गणतन्त्र संकटमा परेको भन्दै वर्तमान सरकारका गतिविधिले देशलाई स्वेच्छाचारिता र अराजकतातिर लैजाने खतरा औंल्याए।

काठमाडौंको खुलामञ्चमा आयोजित सभामा आफ्नो दोस्रो प्रधानमन्त्रित्व काल स्मरण गर्दै दाहालले भने, ‘यो मञ्चमा अहिलेको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्छ, जो मेरो क्याबिनेटमा गृहमन्त्री हुनुहुन्थ्यो। गगन थापाजी स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो। मैले उतिबेलै गगनजीको क्षमता देखेर भनेको थिएँ, तपाईं एकदिन यो देशको नेतृत्व गर्ने ठाउँमा पुग्नुहुनेछ। आज त्यो अवस्था आएको देख्दा बधाई दिन चाहन्छु।’

राजनीतिमा पछिल्लो समय नयाँ पुस्ताले देखाएको प्रवृत्तिको आलोचना गर्दै उनले थपे, ‘अहिले नयाँ भन्नेहरूले बूढापाका र वृद्ध नेताहरूलाई अपमानित गर्ने खालको प्रवृत्ति देखाएका छन्। तर समाज वृद्ध, प्रौढ र युवा मिलेर मात्र चल्छ। हामी लोकतन्त्रवादीहरूले त्यस्तो सस्तो र अराजक प्रवृत्ति देखाउनुहुँदैन।’

विस्तृत शान्ति सम्झौताका अर्का मुख्य हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला भौतिक रूपमा नरहेको स्मरण गर्दै दाहालले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने जिम्मा अब कांग्रेस सभापति थापाको काँधमा आएको बताए। ‘जीवित हस्ताक्षरकर्ताको नाताले बाँकी काम पूरा गर्ने जिम्मेवारी म गगन थापाजीलाई विशेष रूपमा आग्रह गर्न चाहन्छु,’ उनले भने।

प्रकाशित: १८ आश्विन २०८३ १७:३८ आइतबार