राजनीति

गगन भन्छन्: महाधिवेशनमा सभापति बदल्छाैँ भनेर लागेकै हौँ, सकिएन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई बदल्छौँ भनेर लाग्दा पनि नसकिएको बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवाद कार्यक्रममा महामन्त्री थापाले आफ्नो प्रयास असफल भएको उल्लेख गर्दै विधिको म्यान्डेट मान्नुपरेको बताएका हुन्। 

‘म त त्यो बेला (महाधिवेशन)मा सभापति पनि बदल्नुपर्छ भनेर डा. शेखर कोइरालालाई सभापति बनाउनका निम्ति उहाँको महामन्त्रीको प्रतिस्पर्धा गरेको हो,’ महामन्त्री थापाले भने, ‘मैले के कुरा खोजेको थिएँ भने शेखर कोइराला सभापतिको म महामन्त्री भएर काम गर्छु। र, यो काम गर्दाखेरि बदलाव ल्याउँछु भन्ने सोचेरै त्यसो गरेँ।’ 

आफूले जस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सभापति देउवालाई परिवर्तन गर्न प्रकाशमान सिंहको टिममा महामन्त्री लडेको उनले दाबी गरे। उनले भने, ‘हामी दुइटैको कुरा के रह्यो भने हामी अहिले भएको सभापतिको बदलामा नयाँ सभापति ल्याउँछौँ, काम गर्छौँ अनि परिणाम दिन्छौँ।’ तर सभापतिमा देउवा नै दोहोरिएको उनले बताए। 

‘त्यो म्यान्डेट त हामीले मान्नु प¥यो। अब हामी महामन्त्री त भयौँ, तर त्यहीँभित्र बसेर काम गर्नु प¥यो,’ थापाले भने। 

प्रकाशित: ११ भाद्र २०८२ १९:२२ बुधबार