नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको १५औँ महाधिवेशन गर्ने अधिकार नरहेको दाबी गरेका छन्।
शुक्रबार आयोजित नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निधिले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलाई मात्रै आगामी महाधिवेशन गर्ने अधिकार रहेको बताए।
“आगामी महाधिवेशन कसले गर्ने? जो १४औँ महाधिवेशनबाट सभापति बनेको छ, त्यसलाई मात्र १५औँ महाधिवेशन गर्ने अधिकार छ। अरूलाई महाधिवेशन गर्ने अधिकार छैन,” निधिले भने।
विशेष महाधिवेशनबाट गठन भएको कार्यसमितिलाई १५औँ महाधिवेशन गर्ने अधिकार नरहेको उनको भनाइ थियो। उनले विशेष महाधिवेशन नै पार्टीको विधान र प्रक्रियाविपरीत भएको दाबी गरे।
“धोकाधडी गरेर विशेष महाधिवेशन गरिएको हो। विशेष महाधिवेशनबाट बनेको पदाधिकारीलाई १५औँ महाधिवेशन गर्ने अधिकार छैन,” निधिले भने।
निधिले नेपाली कांग्रेसको सभापति अहिले पनि शेरबहादुर देउवा नै रहेको जिकिर गरे। आगामी महाधिवेशन पनि देउवाकै नेतृत्वमा सम्पन्न हुनुपर्ने उनले बताए।
“नेपाली कांग्रेसको सभापति आज पनि शेरबहादुर देउवा नै हुनुहुन्छ। शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्छ,” निधिले भने।
उनले पार्टीको आधिकारिक नेतृत्व र महाधिवेशनसम्बन्धी प्रक्रिया कांग्रेसको विधानअनुसार अघि बढाउनुपर्नेमा जोड दिए। विशेष महाधिवेशनबाट उत्पन्न विवादलाई लिएर कांग्रेसभित्र दुई धार देखिएका बेला निधिको यस्तो अभिव्यक्ति आएको हो।
प्रकाशित: २९ श्रावण २०८३ १९:०८ शुक्रबार