नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीमा देखिएको संकट संवादबाटै समाधान हुने विश्वास व्यक्त गरेका छन्।
नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै उनले अहिले देखिएका दुवै पक्षबिचको संवादमार्फत नै समाधान निस्कने बताएका हुन्।
उनले भने, 'मलाइ विश्वास छ। म दुवैलाई एक गराएर लैजान सक्छु। शेरबहादुरजीसँग म निरन्तर छलफलमा छु। गगनजीसँग पनि कुराकानी भइरहेकै छ। वार्ता नै पार्टीलाई एक बनाउने अन्तिम विकल्प हो। संवादको ढोका खोल्न पर्छ। बन्द मनस्थितिमा बसेर हैन खुल्ला मनस्थितिमा कुराकानी हुनुपर्छ।'
इतर समूहको महाधिवेशन आयोजक समितिका संयोजकसमेत रहेका नेता कोइरालाले कांग्रेसमा अबको नेता गगन नै भएको बताए। तर त्यसका लागि आगामी महाधिवेशन देउवाको नेतृत्वमा गराएर उदारता देखाउन गगनलाई नेता कोइरालाको सुझाव छ।
कोइरालाले भने, 'गगन तत्कालका लागि मात्र नेता बन्ने कि कालान्तरसम्म नेतृत्व लिने? अघिल्लो महाधिवेशनबाट आधिकारिक नेतृत्व लिएका शेरबहादुरलाई नयाँ नेतृत्व हस्तान्तरण गराउने अवसर दिँदै उदारता देखाउनु पर्छ। गगनको भविष्य उज्ज्वल छ तर त्यसका लागि गगनले ठुलो मन बनाउनु पर्छ। अबको महाधिवेशन शेरबहादुर जी कै नेतृत्वमा हुनुपर्छ भन्ने बटम लाइन मेरो हो।'
पार्टीको आधिकारिकता विवादमा अदालतको हस्तक्षेपप्रति पनि डा. कोइरालाको असन्तुष्टि थियो। अदालतको फैसलाले कांग्रेस अहिले दुई खेमामा विभाजन भएको उनको तर्क छ ।
डा.कोइरालासँगको कुराकानी आज साँझ ७ बजे प्रसारण हुनेछ।
प्रकाशित: १४ आश्विन २०८३ ०७:४० बुधबार