राजनीति

कांग्रेसका केन्द्रीय सदस्यलाई गगनको निर्देशन काठमाडौंमा होइन, गाउँमा खटिनुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्यले काठमाडौंमा बसेर राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका छन्। 

पार्टीको नेतृत्व र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताउँदै थापाले अब केन्द्रीय सदस्यहरू केन्द्रमै बसेर जिम्मेवारी पूरा गरेको ठान्ने अवस्था नरहने स्पष्ट पारेका हुन्। 

उनले आगामी स्थानिय निर्वाचनको लागि उम्मेदवार छनोट नगर्ने र पार्टीको विधानमा व्यवस्था गरेर स्थानीय तहका उम्मेदवार सम्बन्धित क्षेत्रका पार्टी सदस्यले नै छनोट गर्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ। 

पोखरा महानगरपालिकाको उम्मेदवार पोखराकै पार्टी सदस्यले र तनहुँको उम्मेदवार तनहुँकै पार्टी सदस्यले छनोट गर्ने उनको भनाइ छ । यसका लागि उम्मेदवार बन्न इच्छुक नेता तथा पार्टीका केन्द्रीय नेताहरू दुवै स्थानीय तहमा पुगेर कार्यकर्ताबीच खटिनुपर्ने उनले बताए। 

‘यो पटक स्थानीय निर्वाचनको उम्मेदवार पनि माथिबाट छान्दैनौँ। पोखरा महानगरपालिकाको उम्मेदवार को हुने भन्ने कुरा पोखराकै पार्टीका सदस्यले छान्नुहुन्छ, तनहुँको उम्मेदवार तनहुँकै साथीहरूले छान्नुहुन्छ,’ थापाले भने। 

विगतमा केन्द्रमा रहेरै राजनीतिक जिम्मेवारी पूरा गर्न सकिने अवस्था रहे पनि अब त्यस्तो अभ्यास कायम नरहने उनको भनाइ छ। 

सभापतिका रूपमा आफूले पार्टीभित्र जवाफदेहिता र नैतिक आचरणलाई प्राथमिकता दिने प्रतिबद्धता पनि थापाले व्यक्त गरे। आफ्नो व्यक्तिगत आचरण, स्वभाव, निर्णय र कामका कारण कुनै पनि कांग्रेस नेता वा कार्यकर्ताले अप्ठ्यारो महसुस गर्नुपर्ने अवस्था आउन नदिने उनले बताए। 

‘म तपाईँहरूले बनाएको सभापति हुँ। सभापति भनेको पद र जिम्मेवारी मात्रै हो,’ थापाले भने। 

आफूभन्दा वरिष्ठ नेता तथा कार्यकर्ताको योगदान ठूलो रहेको र नयाँ पुस्तामा आफूभन्दा क्षमतावान् व्यक्तिहरू पनि रहेको उल्लेख गर्दै उनले सभापतिको पदलाई व्यक्तिगत प्रतिष्ठाभन्दा जिम्मेवारीका रूपमा लिएको बताए। 

प्रकाशित: १० कार्तिक २०८३ १५:०० मंगलबार