राजनीति

गगन-विश्वप्रकाशलक्षित महतको टिप्पणी : अभिभावकमाथि सांघातिक प्रहारको बेला पनि घाउमा नुन छर्ने प्रवृत्ति देखियो

फाइल तस्बिर

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वयले घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखाएको टिप्पणी गरेका छन्।

जेन-जी आन्दोलनको चाहनाअनुसार पार्टी पुनर्संरचना गरेर अगाडि बढ्नुपर्ने भनिरहेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माप्रति महतले तीव्र आक्रोश प्रकट गरेका हुन्। आन्दोलनमा जलाइएको आफ्नो घरको भग्नावशेषबाटै सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले अहिले पार्टीमा सबै जना एक हुनुपर्ने बेलामा घाउ लागेको बेला नुन छर्न खोजिएको आरोप लगाए।

सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा नेतृत्व परिवर्तनको बहस गर्न खोज्नु ठीक नभएको उनको भनाइ छ। उनले भनेका छन्, 'अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो। तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ।'

महतले देउवामाथि सांघातिक प्रहार हुँदा उपचार पनि पूरा पर्खन नसक्ने भन्दै आक्रोश पोखे, 'जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ। तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ। उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो। बोली, बचन, वक्तव्य, उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो। हामीले भन्या थियौँ। कतिपय कुरा ठीक भइरहेको छैन। ओलीजीको सोच र शैलीले ठीक बाटोमा अघि बढ्दैन। अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब त एक छिन पनि हुँदैन भनेको के हो? अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पूरा पर्खन सक्दैनौँ? आकाश नै झरिहाल्छ?'

उनले नयाँ परिस्थितिबारे पार्टीमा अवश्य पनि गम्भीर छलफल गर्ने जिकिर गरे। उनले कसरी घटना घट्यो भन्ने बारे पनि मूल्यांकन गर्ने बताए।

प्रकाशित: ५ आश्विन २०८२ १०:३४ आइतबार