राजनीति

एमालेलाई चुनावमा ल्याउन गगन-विश्वले प्रयास गर्ने !

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा (एमाले) लाई आगामी निर्वाचनमा सहभागी गराउन आफ्नो पार्टीको तर्फबाट पहल गर्ने बताएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीसँग शनिबार बालुवाटारमा भएको भेटवार्तामा उनीहरूले सरकारका साथै कांग्रेसले पनि एमालेलाई मनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनका विषयमा राजनीतिक दलहरूसँग जारी वार्ता जारी राखेकी छन्।यसै क्रममा शनिबार भेटवार्ता भएको हो। करिब एक घण्टा चलेको छलफलमा सरकार र दलहरूले गर्नुपर्ने कामका विषयमा विस्तृत कुराकानी भएको थियो।

भेटमा प्रधानमन्त्री कार्कीले चुनावका लागि दलहरूबाट स्पष्ट प्रतिबद्धता खोजेकी थिइन्। जवाफमा महामन्त्री द्वयले नेपाली कांग्रेस चुनावमा जान प्रतिबद्ध रहेको र छिट्टै औपचारिक निर्णय लिने जानकारी गराए। साथै, एमालेलाई पनि चुनावमा ल्याउन प्रयास गर्ने बताए।

‘नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने हाम्रो विश्वास छ,’ उहाँहरूको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले भने, ‘एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्, हामी पनि प्रयास गर्छौँ।’

महामन्त्रीद्वयले जेन-जी युवा आन्दोलनका मागहरूलाई सम्बोधन गर्नुपर्नेमा समेत जोड दिएका थिए।

उनीहरूले निर्वाचनअघि र निर्वाचनपछिको पहिलो संसद बैठकबाट के-कस्ता माग पूरा गर्न सकिन्छ भन्ने विषयमा जेन-जी लगायत सबै राजनीतिक दलहरूबीच अहिले नै सहमति गरेर जानुपर्ने धारणा राखेका थिए। यसका लागि आफ्नो पार्टीले तत्कालै अन्य दलहरूसँग गहन संवाद गर्ने उनीहरूले बताए।

प्रधानमन्त्री कार्कीले छलफलका लागि एमाले नेतृत्वलाई पनि बोलाएकी थिइन्, तर पार्टी बैठकका कारण उनीहरूले अर्को दिन भेट्ने जानकारी गराएको बालुवाटार स्रोतले जनाएको छ।

यसअघि प्रधानमन्त्रीको पहलमा सरकार, राजनीतिक दल र जेन-जी युवाबीच त्रिपक्षीय संवादसमेत सम्पन्न भइसकेको छ।

प्रकाशित: १५ कार्तिक २०८२ १९:५७ शनिबार