नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष एवं नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि कांग्रेस ‘कोमा’ मा रहेको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौंमा जारी कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता चन्दले कोमामा पुगेको पार्टीलाई ‘प्राणवायु’ (अक्सिजन) दिएर पुनर्जीवन दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खेलेको भूमिकाको प्रशंसा गरे।
‘आन्दोलनपछि पछारिएको र लतारिएको कांग्रेसलाई यहाँसम्म ल्याउन उहाँहरूले ठूलो साहस गर्नुभएको छ,’ चन्दले भने, ‘कोमामा रहेको कांग्रेसलाई प्राणवायु दिएर जगाउने प्रयास गर्ने सबैलाई म धन्यवाद दिन चाहन्छु।’
उनले नेपाली कांग्रेस पुनः देशको अभिभावक पार्टी बन्ने दिशामा अघि बढेको दाबी गरे। देशका अन्य दुई ठूला दलले जनतालाई परिवर्तनको आभास दिन नसकेको आरोप लगाउँदै उनले कांग्रेसले मात्रै मुलुकमा वास्तविक परिवर्तन गर्न सक्ने जिकिर गरे।
सम्बोधनका क्रममा चन्दले अब पार्टीमा युवा नेतृत्वलाई अघि सार्नुपर्नेमा समेत जोड दिएका छन्।
प्रकाशित: २७ पुस २०८२ १५:५० आइतबार