राजनीति

सहिद घोषित रवीन्द्रकाे आजै अन्त्येष्टि

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सहिद घोषणा गरेसँगै सुनसरी देवानगन्ज– ३ को कप्तानगन्जमा मृत्यु भएका रवीन्द्र मेहताकाे आज अन्त्येष्टि गरिने भएकाे छ।

सरकारले सुनसरी देवानगन्ज– ३ को कप्तानगन्जमा भएको घटनामा मृत्यु भएकालाई सहिद घोषणा गरेको छ। सुनसरीबाट सुरु भएको आन्दोलनले उग्ररूप लिँदा सिरहामा मृत्यु भएका अर्का एकजनालाई पनि सहिद घोषणा गरिएको छ। सहिद घोषणासँगै पीडित पक्षले गर्दै आएको आन्दोलन स्थगित हुने भएको छ।

देवानगन्जमा साउन १० गते भएको दुई पक्षीय झडपबाट सुरु भएको हिंसात्मक घटनामा घाइते भएर मृत्यु भएका २५ वर्षीय ओमप्रकाश मेहता, २१ वर्षीय जयप्रकाश मेहता र १९ वर्षीय रवीन्द्र मेहतालाई सरकारले मंगलबार सहिद घोषण गरेको हो। यस्तै सिरहामा मृत्यु भएका गणेशकुमार यादवलाई पनि सहिद घोषणा गरिएको छ।

सरकारले मृतकलाई सहिद घोषणा गरेसँगै पीडित पक्षले गर्दै आएको आन्दोलन पनि स्थगित हुने भएको छ। ‘सरकारले गरेका सहमति सबै कार्यान्वयन हुनेमा म विश्वस्त छु, अब कुनै पनि प्रकारको आन्दोलन गर्नु आवश्यक छैन, हुँदैन’, संघीय सरकारसँग सहमति गर्दा रोहबरमा बसेका देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले भने।

मृतक रवीन्द्रका आफन्तले सहिद घोषणा नगरेसम्म र दोषीलाई कारबाही नगरेसम्म कुनै पनि हालतमा शव नबुझ्ने अडान लिएका थिए। त्यही भएर साउन १९ गते मृत्यु भएका रवीन्द्रको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमै राखिएको थियो। पटकपटक गृहमन्त्री सुदन गुरुङसँग साउन १९ गतेदेखि हुँदै आएको वार्ता सोमबार मात्र सहिद घोषणा गर्ने वचनपछि सातबुँदे सहमति भएको थियो। सहमतिसँगै मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सहिद घोषण गरेको हो।

गृहमन्त्री गुरुङले पहिलो चरणमा गरेको सहमतिबाहेक नयाँ देवानगन्ज– ३ मदर्साको कानुनी हैसियत तथा सम्बन्धित विषयमा तत्काल छानबिन प्रारम्भ गर्ने समेटिएको छ। साथै, नयाँ सहमतिमा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानुनबमोजिम कार्यान्वयन गरिने पनि समेटिएको छ। सरकारले घटनालगत्तै छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा समिति बनाएको थियो। समितिले एक साताभित्र प्रतिवेदन बुझाउने भने पनि अहिलेसम्म बुझाएको भने छैन।

गृहमन्त्री गुरुङले पहिलोपल्ट साउन १४ गते राति देवानगन्ज घटनाका मृतकमध्ये ओमप्रकाश र जयप्रकाशका अभिभावकसँग दुवैजनालाई सहिद घोषणा प्रक्रिया अघि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने सहमति भएको थियो। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने तथा परिवारका एकएकजना सदस्यलाई रोजगारीको अवसर दिने पनि सहमति भएको थियो। पछिल्लोपटक सोमबार पनि अघिल्लोपटककै सहमति कार्यान्वयन गर्नेसहित नयाँ थप दुईवटा सहमति भएको थियो।

सहमतिअनुसार मृतक परिवारका सदस्यलाई जागिर दिनसरकारलाई नाम उपलब्ध गराइसकेको देवानगन्ज गाउँपालिका अध्यक्ष मेहताले बताए। उनका अनुसार एकै दिनमा सबै काम सम्भव नभएकाले मृतकका परिवारलाई जागिर उपलब्ध गराउन नाम उपलब्ध गराइसकिएको छ। अरू घाइतेमध्ये तीनजना अमित यादवको काठमाडौं ट्रमा सेन्टर र विराटनगरमा दुईजना हरेराम यादव तथा मिथलेश मेहताको उपचार भइरहेको गाउँपालिका अध्यक्ष मेहताले बताए।

कप्तानगन्ज घटना प्रकरणमा प्रहरीले तीन दिनअघि नै घटनामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ। पक्राउ परेका सबैको नाम गोप्य राखिएको छ। घटना संवेदनशील भएकाले सबैको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले बताए।

प्रकाशित: २७ श्रावण २०८३ ०७:१७ बुधबार