नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विजयमा नेपाली सेनादेखि बाह्य अदृश्य शक्तिहरूसम्मको निर्णायक भूमिका रहेको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले भदौ २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा अवैधानिक रूपले रङ्ग क्रान्ति सम्पन्न भएको टिप्पणी गरे।
उक्त क्रान्तिलाई फागुन २१ गतेको निर्वाचनमार्फत निलो क्रान्तिको रूपमा वैधानिकता प्रदान गरिएको उनले सुनाए।
संसदमा शुभकामना मन्तव्य राख्ने क्रममा नेता थापाले रास्वपाको अभूतपूर्व विजयमा आन्तरिक रूपमा विभिन्न संस्थाको हात रहेको बताएका छन्।
उनले नेपाली सेना, कर्मचारीतन्त्र, सुशीला सरकार, कार्की आयोग र बारबरा फाउन्डेसनजस्ता गैरसरकारी संस्था (एनजीओ) ले यसमा निर्णायक भूमिका खेलेको दाबी गरे।
चुनावमा यी संस्था र पात्रहरूले जादुमयी भूमिका खेलेको भन्दै उनले एमालेको तर्फबाट बधाई समेत दिएका छन्।
यसैगरी, बाह्य तथा अदृश्य शक्तिहरूले पनि चुनावको नतिजामा महत्त्वपूर्ण प्रभाव पारेको उनले औंल्याएका छन्। टीओबी, एआई, अल्गोरिदम र गोयबल्स शैलीको प्रयोग गरी भाष्य निर्माण गरिएको उनको भनाइ छ।
यस्ता शक्तिले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र शान्तिका नायकहरूलाई हत्यारा र खुँखार खलनायकका रूपमा स्थापित गरेको उनले दाबी गरे।
देश जलाउने र राष्ट्रिय पहिचान मेटाउन खोज्ने पात्रहरूलाई भने तिनै शक्तिले महानायक बनाएको उनले व्याख्या गरेका छन्।
फागुन १३ गते भव्य धार्मिक अनुष्ठानबीच रास्वपा नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइएको प्रसंग निकाल्दै नेता थापाले उनलाई कार्यकालको शुभकामना दिएका छन्।
उनले भने, ‘फागुन १३ गते धार्मिक अनुष्ठानका बीच रास्वपा नेता श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।’
प्रकाशित: १९ चैत्र २०८२ १५:५८ बिहीबार