प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले फरक विचार राखेकै कारण सांसदविरुद्ध धम्की दिने, सिंहदरबारको गेटअगाडि लतार्ने–घिसार्ने, घर जलाउने तथा रक्तपात मच्चाउनेजस्ता धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्ने बताए। उनले लोकतन्त्रमा आफू असहमत भए पनि अर्को व्यक्तिको बोल्ने अधिकारको रक्षा गर्न अन्तिम समयसम्म लड्ने मान्यता लोकतान्त्रिक सहिष्णुताको सर्वोच्च मापदण्ड भएको बताए।
‘म तिम्रो कुरासँग असहमत हुन सक्छु, तिम्रो बोल्ने अधिकारको रक्षाका लागि अन्तिम सास लडिरहनेछु’ भन्ने मान्यताले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक सहिष्णुताको सर्वोच्च मापदण्ड स्थापित गर्ने उनको भनाइ थियो।
नेपालको संविधानले समेत अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै आचार्यले फरक विचार राखेकै कारण सांसदहरूमाथि धम्की आउनु स्वीकार्य नहुने बताए।
‘फरक विचार राखेकै कारण सांसदहरूविरुद्ध खुल्लमखुल्ला सिंहदरबारको गेटअगाडि लतार्ने, घिसार्ने, घर जलाउने, रक्तपात मच्चाउनेजस्ता प्रथम दृष्टिमै खारेजयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो,’ उनले भने।
यस्ता अतिवादी धम्की दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन आफूले गृह मन्त्री र प्रधानमन्त्री कार्यालयलाई आग्रह गरिसकेको पनि आचार्यले बताए।
उनले सभामुखलाई सांसदहरूलाई तथ्यमा टेकेर आफ्ना धारणा राख्न साहस प्रदान गर्ने वातावरण बनाउन आग्रह गरे।
प्रकाशित: १ आश्विन २०८३ १३:४८ बिहीबार