जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा चार वटा नयाँ राजनीतिक दल दर्ता गर्न निवेदन परेका छन्।
बिहीबार मात्र एउटा नयाँ राजनीतिक दल दर्ताका लागि आयोगमा निवेदन परेको छ। प्रदर्शनपछि योसहित अब आयोगमा चार वटा दल दर्ताका लागि निवेदन परेको छ।
बिहीबार दर्ता भएको निवेदनमा दलको नाम गतिशील लोकतान्त्रिक पार्टी राखिएको छ। बुद्ध ऐयरमा मालिक रहेका वीरेन्द्रबहादुर बस्नेत उक्त दलका केन्द्रीय सदस्य छन्। अध्यक्ष भने दिनेश प्रसाई रहेका छन्। उक्त पार्टीमा पदाधिकारीहरूले आगामी निर्वाचनमा भाग लिन नपाउने व्यवस्था राखिएको छ। उक्त व्यवस्थाको कारण बस्नेत केन्द्रीय सदस्य मात्र भएका हुन्। उनलाई निर्वाचनमा भाग लिने बाटो खुला भएको छ। उक्त पार्टीको महासचिवमा पियुष कायस्थलाई राखिएको छ।
निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनपछि हर्क साम्पाङले श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन दर्ता गराएका छन्। यसैगरी सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी दर्ताका लागि निवेदन दिएका छन्। यसैगरी ज्ञानेन्द्रकुमार तामाङले उज्यालो नेपाल पार्टी दर्ताका लागि निवेदन दिएका छन्।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार २०७९ को निर्वाचनपछि आयोगमा १३ वटा राजनीतिक दल दर्ताका लागि निवेदन परेका छन्। आयोगले हालसम्म १ सय २४ वटा राजनीतिक दललाई दलको रूपमा मान्यता दिएको छ। आयोगमा दल दर्ताका लागि निवेदन परेका नयाँ १३ दलको विषयमा छानबिन भइरहेको र छानबिनपछि प्रक्रिया पूरा गरी दल दर्ताको निवेदन दिएका दलहरूलाई राजनीतिक दलको रूपमा प्रमाण पत्र दिने सूचना अधिकारी घिमिरले बताए।
आयोगले यही फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ। उक्त निर्वाचनमा भाग लिनका लागि आयोगले आगामी मंसिर १ देखि १० गतेसम्म निवेदन दिन सबै राजनीतिक दलहरूलाई सूचना जारी गरेको छ। ‘पार्टीको रूपमा दल दर्ता भएका सबै दलहरूले मंसिर १ देखि १० गतेसम्म आयोगमा दर्ता गरिसक्नु पर्छ,’ उनले भने, 'मंसिर १ देखि १० गतेसम्म हुने दल दर्ता फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि हुने छ।‘
प्रकाशित: ३० आश्विन २०८२ २०:२२ बिहीबार